पर्यटक बढाउन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जोड


भैरहवा– रुपन्देहीको सीमावर्ती भैरहवाका पर्यटन तथा उद्योगी–व्यवसायीले लुम्बिनी र आसपासका क्षेत्रमा पर्यटकको संख्या बढाउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएका छन् । भैरहवाबाट अन्तर्राष्ट्रिय सहरमा सिधैं उडान सञ्चालनमा नआएसम्म पर्यटकको संख्यामा बृद्धि नहुने उनीहरुको भनाई थियो । संरचना भएर पनि त्यसको सदुपयोग नहुँदा चिन्ता बढ्दैं गएको पर्यटनकर्मीले बताए ।
सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर (सोट्टो) नेपाल, लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनमा सहभागी व्यवसायीले रुपन्देहीमा स्थल र हवाई दुबै अन्तर्राष्ट्रिय नाका भए पनि सदुपयोग हुन नसकेको बताए । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले राज्यका विभिन्न तह र तप्कामा अनुरोध गरे पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नियामक निकाय सकारात्मक नबनेको बताए ।
‘नियामक संस्थाले काठमाडौंबाट धेरै उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट एउटा उडान थाल्न निर्देशन गर्न सकेनन्,’ उनले भने, ‘त्यस्तो नियम बनाए विमान कम्पनी उडान भर्न बाध्य हुने र बिस्तारै यहीँबाट यात्रु पाउन थालेपछि धेरै कम्पनी आकर्षित हुनेछन् ।’ पर्यटक आगमनका लागि स्थल र हवाई मार्ग हुनु सकारात्मक भए पनि यहाँ उपलब्धी हाँसिल हुन नसकेको उनको भनाई थियो ।
पर्यटन अभियन्ता विक्रम पाँडे काजीले पर्यटन क्षेत्रबाट सर्वसाधरण लाभाम्बित हुनुपर्ने धारणा व्यक्त गरे । पर्यटन प्रवद्र्धनका लागि विभिन्न प्याकेज कार्यक्रम जरुरी हुने बताउँदैं उनले आफूले सगरमाथा क्षेत्रमा ल्याएको परिवर्तनबारे जानकारी गराए । लुम्बिनीको पर्यटन उकास्न मायादेवी सुत्केरी मार्ग कार्यक्रम ल्याएको उनले बताए । मायादेवी सुत्केरी मार्ग बिकासका लागि विश्व बैंकले ठूलो रकम लगानी गर्न लागेको उनले जानकारी दिए । ‘तपाईँहरु निरास नहुनुस्,’ उनले भने, ‘एकजुट भएर पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नुस् ।’
सोट्टो नेपालका केन्द्रिय अध्यक्ष भुवनबहादुर पाण्डेले आफ्नो संस्था व्यवसायिक हकहितका लागि लडिरहेको बताए । संस्थाको लुम्बिनी प्रदेश शाखालाई प्रदेश सरकारसित मिलेर पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न अनुरोध गरे । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा पर्यटकका लागि सुरक्षित वातावरण रहेकाले सकारात्मक प्रचारप्रसारमा जोड दिन अनुरोध गरे । ‘यहाँ पर्यटकका लागि २४ सैं घण्टा सुरक्षित माहोल छ,’ उनले भने, ‘त्यसैले ढुक्क भएर मुलुक घुम्नुस्, हामी सुरक्षा दिन तयार छौं, सुरक्षित वातावरण बनाएका छौं ।’ भारतीय सञ्चारमाध्यामले पर्यटकले दुःख पाएको भन्दै अफवाह फैलाइरहेको उल्लेख गर्दै गलत प्रचार नगरिदिन अनुरोध गरे ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा हुनु गौरबको बिषय भएको जनाँउदैं यसको पूर्ण सञ्चालनका लागि सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताए । यहीँबाट नजिकका अन्तर्राष्ट्रिय सहरमा उडान सञ्चालनमा आए सर्वसाधरणलाई सजिलो हुने उनले बताए । अहिले यहाँबाट भारतीय सहर गोरखपुर पुगेर विमान चढ्नु परिरहेको जनाउँदैं त्यस्तो बाध्यता अन्त हुनुपर्ने बताए । यहाँ आउने पर्यटकका कुनै गुनासो सुन्न नपर्ने गरि काम गर्न सरोकारवालासित अनुरोध गरे । पर्यटन बिकासका लागि एकजुट भएर काम गर्न पर्यटन संघसंस्थासित अनुरोध गरे ।
सोट्टो लुम्बिनीका निवर्तमान अध्यक्ष सञ्जय बजिमयले कोरोनाका कारण समयमै वार्षिक साधारणसभा र अधिवेशन हुन नसकेको जनाए । यसका वापजुद संस्थाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नाका व्यवस्थापन र पर्यटकले भोग्नु परिरहेका समस्या समाधानका लागि अभियान चलाएको जानकारी दिए । ‘भैरहवाका व्यवसायीको सञ्जाल बनाएर एकीकृत ढंगले मुद्दा उठाइरहेका छौं,’ उनले भने, ‘यस्तो भूमिकामा कमी आउने छैन ।’








प्रतिकृया दिनुहोस्