June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

नेपालगञ्जको बजेट पारित

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको ०८०/८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। नगरसभाको १३औं अधिवेशनको दोस्रो बैठकबाट शनिबार बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो।

Advertisement

नगर प्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भएका हुन्।

Advertisement

असार ९ गते बसेको नगरसभाको १३औं अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख विष्टले ०८०/८१ को नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गरेका थिए।

उपप्रमुख राईले ०८०/८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँको अनुमानित आय व्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गरेका थिए।

संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए।

समग्र नगर विकासका लागि वडा कार्यालयहरूसँगको सहकार्यलाई आत्मसात गर्दै चालु वर्षजस्तै आगामी आर्थिक वर्षका लागि पनि २५ करोड रुपैयाँ सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको उपप्रमुख राईले उल्लेख गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाले आन्तरिक आय १८ करोड र राजस्व/अनुदान बचत मौज्दात २० करोड हुने अनुमान गरेको छ। कुल आम्दानीको अधिकांश भार केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजस्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने उपप्रमुख राईले बताए।

नगर प्रमुख विष्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक, सामाजिक, मानवीय, पूर्वाधारलगायतको विकासका निम्ति कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। शनिबारको बैठकमा उपप्रमुख राई, वडा नम्बर १ का अध्यक्ष एवं प्रवक्ता प्रमोद रिजाल, वडा नम्बर १८ का अध्यक्ष दीपककुमार बर्मा, वडा नम्बर २१ का अध्यक्ष राजकुमार साहु, वडा नम्बर ४ का अध्यक्ष गोपाल पुन र वडा नम्बर २ का अध्यक्ष मनोजकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिए।