May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

ऋण तिर्न गाउँ नै पलायन

बर्दिया– गर्जो टार्न लघुवित्तबाट ऋण लिएका जिल्लाको सदरमुकामस्थित एक गाउँका बासिन्दा मजदुरीकालागि भारत पलायन भएका छन् । गुलरिया–९, टेपरी गाउँमा बसेर रिन चुक्ता गर्ने उपाय नभएपछि उनीहरु घरमा ताला लगाएर भारतका विभिन्न सहर पुगेका हुन् । यसरी गएकाहरु कहिले फर्किने हुन पत्तो छैन ।

Advertisement

यता घर जीर्ण भइसकेका छन् । जीविकोपार्जनका लागि गएका उनीहरुको अवस्थामावारे छिमेकीलाई समेत पत्तो छैन । स्थानीय दिपबहादुर बुढाथोकीले लघु वित्तको ऋण तिर्न मजदुरीका लागि भारत गएकाहरु अहिलेसम्म नफर्किएको बताए ।

Advertisement

गाउँका अधिकांश बासिन्दा रोजगारीका लागि पलायन हुने गरेका हुन् । कतिपय परिवारै घरमा ताला लगाएर भारतमा ज्याला मजदुरी गर्न गएका छन् । स्थानीय पवित्रारानी कामीको अवस्था कहाली लाग्दो छ । ऐलानी जग्गामा बस्दै आएकी उनका श्रीमान् ज्यालादारी गर्न गुजरात पुगेका छन् । गाडी धुने, घर सफाई गर्ने जस्ता काम गरे वापत मासिक ६ हजार ज्याला पाउने गरेको पार्वतीले सुनाइन् ।

वेलावेलामा आफू पनि काम गर्न श्रीमानसँग भारत जाने गरेको उनले बताइन् । ‘सॉझ, बिहान छाक टार्न र छोराछोरीलाई पढाउन मजदुरी गर्नु पर्ने बाध्यता छ,’ उनले भनिन्, ‘दुई कट्ठा ऐलानी जग्गा बाहेक अरु केही छैन ।’ ऋण भएकाले मजदुरी गरि तिनु पर्ने बाध्यताले घर छाडेर परदेश जानु परेको उनले गुनासो पोखिन् ।

लघु वित्त संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि सिंगो गाउँ सुनसान बनेको छ । स्थानीयका अनुसार आधा भन्दा बढी मानिस ऋण तिर्न नसकेर पलायन भएको बताउँछन् । दैनिक ज्यालादारीको आम्दानी गुजारामै सकिएपछि उनीहरुले लघुवित्तको ऋण तिर्न नसकेको बताए । गाउँका अधिकांश घरमा ताला लगाएर काम गर्न भारत गएको गुलरिया नगरपालिकाकी पूर्व कार्यपालिका सदस्य विनिता देवकोटा बताइन् ।

‘पलायन हुनुको मुख्य कारण गरिबी हो,’ उनले भनिन्, ‘सुकुम्बासी बस्ती बसेको ३० वर्ष भयो, अहिलेसम्मसम्म सरकारले न जग्गाधनी पुर्जा दिएको छ, न त रोजगारी नै ।’ ३ सय ५० घरधुरी रहेको सुकुम्बासी बस्तीका हरेक परिवारका मुलीसँग १ देखि २ कठ््ठा जग्गा घरबास मात्रै रहेको छ । यहाँ बसोबास गर्ने अधिकांश दैलेख, जाजरकोट लगायत जिल्लाबाट आएर बसोबास गरेका छन् ।

आम्दानीको स्रोत नभएका यहाँका बासिन्दालाई लघु वित्तले विना धरौटी ऋण दिएको थियो । त्यही ऋण तिर्न नसकेका कारण करिब ६० प्रतिशत मानिस मजदुरीका लागि भारत जानु परेको गुलरिया–९, का वडाध्यक्ष हरिप्रसाद पासवानले बताए ।