June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

बर्दिया निकुञ्जमा करिब दुई सय मानव निर्मित पोखरी

बर्दिया– वन्यजन्तुको वासस्थानमै पिउने पानी उपलब्ध गराउन बर्दिया निकुञ्जले पोखरी निर्माणलाई प्राथमिकता दिएको छ । तीन दशक यता पानी अभावमा वन्यजन्तु छट्पटिन थालेपछि करिब दुई सय कृत्रिम पोखरी निर्माण गरिएको छ । यसरी पोखरी निर्माणले वन्यजन्तुको बासस्थान व्यवस्थापनसँगै चोरीसिकार न्युनिकरण भएको निकुञ्जले जनाएको छ । आगामी वर्षमा पोखरी निर्माणलाई अभियानकै रुपमा अगाडि बढाइने निकुञ्जले जनाएको छ ।

Advertisement

निकुञ्जका मुख्य फाँटा नजिक यस्ता पोखरी निर्माण गरिएका छन् । पोखरी नजिक मचान निर्माण गरिएका छन् । बाघ अवलोकनका लागि पर्यटक दिनभर मचानमा बस्ने गरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बासस्थानमा पोखरी निर्माणले बाघको संख्या बृद्धिमा सघाएको बताए । घाँसे मैदान व्यवस्थापन र पोखरी निर्माणले वन्यजन्तुबीच द्वन्द्वमा कमी आउने र उनीहरु आफ्नै बासस्थानमा रमाउने बताए ।

Advertisement

अहिले बघौरा, लामीताल, लम्कोइली, लामीताल फाँटामा पोखरी छन् । धनेश र खोदाउ तालमा प्रायः वन्यजन्तु भेटिने गरेका छन् । पोखरीले बाघ अवलोकन सहज बनेको उनले बताए । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत आशिस न्यौपानेका अनुसार निकुञ्जका विभिन्न क्षेत्रमा एक सय ८० भन्दा धेरै मानव निर्मित पोखरी छन् । ती मध्ये ४५ वटामा बाह्रैमास पानी उपलब्ध गराउन बोरिङ जडान गरिएको छ । बोरिङ चलाउन सोलार (सौर्य उर्जा) जडान गरिएको छ ।

‘यस वर्ष पोखरी निर्माणलाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘पाँच वटा पोखरी भर्न बोरिङ जडान गरेका छौं ।’ यस बाहेक वर्षातको पानी संकलन गर्न पोखरी निर्माण गरिएको उनले बताए । आगामी आर्थिक वर्ष बबई उपत्यका, लामी दमार, गुठी र रम्बाभार क्षेत्रमा पोखरी निर्माण गरिने उनले जनाए ।

एउटा पोखरी निर्माणमा १५ देखि १७ लाख रुपैयाँसम्म खर्च भइरहेको उनले बताए । पोखरी निर्माण र घाँसे मैदान व्यवस्थापनका लागि निकुञ्ज, तराई भू–परिधी कार्यक्रम (ताल), प्रकृति संरक्षण कोषण, जेडएसएल नेपाल र एकीकृत भू–परिधी योजना (इलम)ले आर्थिक र प्राविधिक सहयोग गरिरहेको उनले बताए ।