June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

विमानस्थल पूर्णक्षमतामा चलाउँछौंः मन्त्री किराती

भैरहवा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल पूर्णक्षमतामा संचालन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सबैको सहकार्य, समन्वय र भारतसँग एयररुट लगायतका विषयमा पहल गरी विमानस्थललाई छिट्टै पूर्ण क्षमता संचालन गर्न आफू कटिबद्ध रहेको जनाए ।

Advertisement

मंगलबार राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको गौतमबुद्ध विमानस्थलमा व्यवसायिक उडान सुरु पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री किरातीले भने, ‘भारतसँगल एयररुटमा लागि कुरा भइराखेको छ, भारत असल छिमेकी हो । हामीलाई एयर रुट दिन्छ भन्नेमा विश्वास छ । त्यसलै अन्य प्राविधिक कुराहरु मिलाएर हामीले विमानस्थललाई पूर्ण क्षमतामा संचालनमा ल्याउँछौं ।’ उनले इस्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) संचालनमा भारतले सहमती दिएको र अन्य कुराहरुमा पनि सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

Advertisement

विमानस्थलमा पछिल्लोपटक धेरै विदेशी वायुसेवाले उडान भर्न चासो देखाएको जनाउँदै मन्त्री किरातीले धेरैभन्दा धेरै विमानमार्फत यहाँ व्यवसायिक उडान गर्न सरकार लागि परेको जनाए । उनले निजी क्षेत्रको लगानीलाई सरकारले संरक्षित गर्ने जनाउँदै लुम्बिनीको प्रबद्र्धनमार्फत् पर्यटक भित्र्याउन पहल भइरहेको जनाए । उनले नेपाल वायुसेवाको व्यवसायिक उडानपछि भैरहवामा चहलपहल हुने विश्वास व्यक्त गरे ।

नेपाल वायुसेवाले व्यवसायिक उडान सुरु गरेपछि मलेशियामा रोजगारी गरेर घर फर्कने पश्चिम नेपालका नेपालीहरु घरछेउको विमानस्थलमा ओर्लन पाएका छन् । भाडादर, घर नजिक र सहज यात्राले गर्दा उनीहरु खुशी छन् । मलेशियाबाट रोजगारी गरी फर्किएका नवलपरासीका रमानन्द धरिकारले घरछेउको विमानस्थलमा ओर्लन पाउँदा खुशी भएको जनाए ।

निजी क्षेत्रले पनि यसको स्वागत गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले नेपाल वायुसेवाबाट व्यवसायिक उडान सुरु हुनु सकारात्मक भएको जनाउँदै अब भैरहवा–दिल्ली, श्रीलंका, थाइल्याण्ड लगायतका देशमा पनि उडान भर्न आग्रह गरे । उनले विमानस्थललाई लक्षित गरी अर्बौं लगानी गरिएको र यो लगानी सुरक्षित गर्न पनि विमानस्थल पूर्ण क्षमतामा संचालन गर्नुपर्ने माग गरे ।

मलेसियाको राजधानी क्वालालम्पुरबाट उडेकोे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मंगलबार बिहान पौने ९ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेको थियो । ९१ जना यात्रु लिएर आएको जहाजबाट ३१ जना भैरहवा ओर्लिए भने ६० जना यात्रु काठमाडौंमा ओर्लिएका छन् । भैरहवाबाट निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किरातीले विमानस्थलमा स्वागत गरेका थिए ।

हरेक मंगलबार हुने उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालक दलका सदस्य पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउँदैन भने भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं जानेछ । नेपाल वायु सेवा निगमअनुसार अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेसिया– काठमाडौं एकतर्फी भाडादर ५६ हजार रुपैयाँ तोकिएको छ । तर विमानस्थलको प्रवद्र्धन गर्न भन्दै तत्कालका लागि मलेसिया–भैरहवा हवाई भाडादर ११ हजार रुपैयाँ मात्रै कायम गरिएको छ । मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७९ जेठ २ गते उद्घाटन गरेपछि विमानस्थल सञ्चालनमा आएको थियो । यसअघि, विमानस्थलबाट कुवेतको जजिरा एयर र नेपालको हिमालयन एयरलाइन्सले उडान सुरु गरेका थिए । तर, अहिले ती दुवै एयरलाइन्सले यहाँबाट उडान बन्द गरेका छन् । जसले गर्दा विमानस्थल अन्तर्राष्ट्रिय उडानबिहीन थियो । निजी क्षेत्रले नेपाल एयरलाइन्सबाट उडान गर्न माग गर्दै धर्ना दिने, ज्ञापन पत्र बुझाउने कार्य गर्दै आएका थिए । जजिरा र हिमालयन एयरबाहेक अहिलेसम्म ४० बढी बिदेशी एयरलाइन्स कम्पनीले गौतमबुद्धमा चार्टर्ड उडान गरेका छन् । यहाँका स्थानीय र पर्यटन व्यवसायीले जजिरा र हिमालयन एयरलाइन्सले जस्तै केही समय उडान गरेर रोक्ने नभई नियमित र दैनिक उडान गर्न सरकारसँग माग गरेका छन् ।