गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको व्यवसायिक उडान सुरु


भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले व्यवसायिक उडान सुरु गरेको छ । मंगलबारदेखि राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सले नियमित उडान र अवतरण सुरु गरेको हो । भैरहवास्थित विमानस्थलमा मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० ‘ल्यान्ड’ गरेको थियो ।
उक्त विमान बिहान ८ः५५ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बताए । नेपाल एयरलाइन्सको तालिकाअनुसार सोमबार काठमाडौंबाट क्वालालम्पुरतर्फ उडेको एयरबस ३२० मंगलबार क्वालालम्पुरबाट भैरहवामा अवतरण भएको विमानस्थलले जनाएको छ ।
गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्ने तालिका छ । भैरहवामा केही यात्रुलाई ओरालेर उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको छ । भैरहवाबाट व्यवसायिक उडान सुरु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती यहाँ आएका छन् । यस्तै, मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत उच्च सरकारी अधिकारी भैरहवा आएका छन् ।
विमानस्थल सञ्चालनमा आएको एक वर्ष एक महिनापछि नेपाल एयरलाइन्सले उडान सुरु गरेको हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७९ जेठ २ गते उद्घाटन गरेपछि विमानस्थल सञ्चालनमा आएको थियो । यसअघि, विमानस्थलबाट कुवेतको जजिरा एयर र नेपालको हिमालयन एयरलाइन्सले उडान सुरु गरेका थिए । तर, अहिले ती दुवै एयरलाइन्स कम्पनीले त्यहाँबाट उडान बन्द गरेका छन् । जसले गर्दा विमानस्थल अन्तर्राष्ट्रिय उडानबिहीन थियो ।
निजी क्षेत्रले नेपाल एयरलाइन्सबाट उडान गर्न माग गर्दै धर्ना दिने, ज्ञापन पत्र बुझाउने कार्य गर्दै आएका थिए । नेपाल एयरलाइन्सले व्यवसायिक उडान सुरु गरेपछि अहिले क्वालालम्पुर–भैरहवाको प्रतियात्रु भाडादर ११ हजार ४६१ रुपैयाँ कायम गरिएको छ । क्वालालम्पुर–भैरहवा–काठमाडौंको भाडादर १२ हजार ३४६ रुपैयाँ कायम गरिएको छ ।








प्रतिकृया दिनुहोस्