लुम्बिनी सरकारको नीति तथा कार्यक्रममाथि भोलिदेखि प्रदेश सभामा तीन दिन छलफल हुने


दाङ– लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रममाथि भोलिदेखि संसदमा छलफल हुने भएको छ। जेठ २९, ३० र ३१ गते गरी तीन दिन नीति तथा कार्यक्रममाथि छलफल हुने भएको हो । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफसमेत दिनेगरी प्रदेशसभामा छलफलको तयारी गरिएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले जेठ २६ गते प्रदेश सभाको दोस्रो अधिवेसनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले दोस्रो अधिवेशनको आइतबार बसेको छैठौँ बैठकमा वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न तीन दिन बैठक बस्ने जानकारी दिएका हुन् ।
नीति तथा कार्यक्रमको धन्यवादको प्रस्ताव छैठौँ बैठकले सर्वसम्मतले पारित गर्दै तीन दिन छलफलका लागि समय छुट्याएको हो । धन्यवाद ज्ञापनको प्रस्तावकमा नेकपा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा र समर्थकमा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्यमजय तिमिल्सिना रहेका थिए।
सरकारले यसअघिका धेरै नीति तथा कार्यक्रमलाई नै निरन्तरता दिँदै आगामी आव २०८०–०८१ का लागि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । सरकारले सार्वजनिक गरेको कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा राखेको छ । रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ । सरकारले स्थायी राजधानी निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।
प्रदेशसभाबाट राजधानी तोकिएसँगै आधुनिक सहरसहितको प्रदेश राजधानीलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण भएर जग्गा व्यवस्थापन, ल्यान्ड पुलिङ र भौतिक पूर्वाधार निर्माणका कार्य शीघ्ररुपमा अघि बढेको बताए । यस्तै, शिक्षा, पर्यटन, रोजगारी सरकारको प्राथमिकतामा छन् । नीति तथा कार्यक्रममा सांसदहरुले दफाबार छलफल गर्ने छन् । नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएपछि सरकारले असार १ गते संसदमा आगामी वर्षका लागि बजेट पेस गर्ने छ । संघ, स्थानीय तह, नीजि क्षेत्र, सहकारी र विकास साझेदारसँगको साझेदारीमा आगामी २ वर्षमा २ लाख उत्पादनशील रोजगारीका अवसर सिर्जना हुने गरी प्रदेशका ९ सय ८३ वटै वडामा सामाजिक परिचालन गर्ने नीति कार्यक्रम सरकारले सार्वजनिक गरेको छ ।








प्रतिकृया दिनुहोस्