रात्री बजार हल्ला मात्रै, पान, कुल्फी, लस्सी र बदाम सेकमा भीड


भैरहवा– पर्यटक लक्षित गरेर रात्री बजार सञ्चालनको चर्चा सुरु भएको एक वर्षभन्दा धेरै समय भइसक्यो । गत मंसिरको आम निर्वाचन भन्दा अगाडिको तत्परता अनुसार त अहिलेसम्म रात्री बजार सञ्चालन भइसक्नु पर्ने हो । स्वदेशी र छिमेकी मुलुकका पर्यटक लक्षित गरेर मनोरञ्जनमा आधारित रात्री बजारको अवधारणा अगाडि बढाइएको थियो । बजार सञ्चालनका लागि जिल्ला प्रशासनले निर्देशिका र मापदण्ड समेत तयार गरेको थियो ।
स्थानीय व्यवसायीले बजार सञ्चालनमा जोड दिने र प्रशासनले हुन्छ भन्ने शिलाशिला अझैं चलिरहेको छ । व्यवहारमा अहिलेसम्म बजार सञ्चालनमा आउन सकेको छैन । एक महिना अघि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर बुटवलमा आएका बेला उपमहानगरपालिकामा स्वागत गरिएको थियो । त्यसक्रममा स्थानीयले बुटवलमा रात्री बजार सञ्चालनका लागि सुरक्षा प्रवन्ध मिलाउन माग गरेका थिए । स्थानीय सुरक्षा प्रमुखको सहभागिता थियो । त्यसैले महानिरीक्षक कुँवरले मातहतका कार्यालय प्रमुखलाई स्थानीय सरकारसित समन्वयमा काम थाल्न निर्देशन दिएका थिए ।
बुटवल र भैरहवामा होटल र रेष्टुरेन्टको बाढी नै छ । एकपछि अर्को सञ्चालनमा आउने क्रम रोकिएको छैन । दिउँसो र साँझ मात्र सञ्चालन गरेर लगानी जोगिने वातावरण नबनेपछि २४ सैं घण्टा व्यवसाय सञ्चालनको वातावरण तयार गर्न दबाब दिँदै आएका छन् ।
भैरहवामा केही रेष्टुरेन्ट २४ संैं घण्टा सञ्चालनमा आइरहेका छन् । तर, तिनले प्रशस्त ग्राहक पाएका छैनन् । भैरहवामा छिमेकी भारतीय ग्राहक लक्षित गरेर रात्री बजारको अवधारणा आएको हो । तर, भारतीय आउनका लागि सीमा क्षेत्रमा सहजता छैन । आए पनि फर्किन समस्या छ । अर्कोतर्फ प्रशासनले स्पष्ट निर्देशन दिएको छैन । तीन दिन अघि मध्यरातमा यात्रा गरिरहेका दुई सर्वसाधरणलाई प्रहरीले हिँडडुलमा रोक लगाएको आरोप सार्वजनिक भएको थियो ।
केही सञ्चारमाध्यामले भैरहवामा निषेधाज्ञा रहेको टिप्पणी गरेका थिए । यसले पनि २४ सैं घण्टा रेष्टुरेन्टमा गएर रमाउने वातावरण देखिँदैन । भैरहवामा अहिले असह्य गर्मी छ । दिउँसोमा अत्यावश्यक बाहेकका काममा घर बाहिर हिँडडुल सम्भव छैन । हिँडे पनि घामले पोल्ने गरेको छ । यस्तो बेला सर्वसाधरण साँझ छिप्पिएपछि सहरमा टहलिन निस्किने गरेका छन् । उनीहरुले निस्किने बेला अधिकांश सहर सुनसान भइसकेको हुन्छ । तर, पवन मिष्ठान्न अगाडि भने बाक्लो भीड हुन्छ ।
सर्वसाधरणको चहलपहलले रौनक थप्ने गरेको छ । त्यहाँ पान पशल खुलेका हुन्छन् । ठेलामा कुल्फी, लस्सी, आइसक्रिम र बदामसेक बेच्नेबीच होड देखिन्छ । उनीहरु चिच्याएर ग्राहक आकर्षित गरिरहेका हुन्छन् । साँझ यस्तो व्यापार १० बजेसम्म सञ्चालन हुन्छ । झिलिमिलि बत्ती जडान गरिएका ठेला आकर्षक देखिन्छन् । रातीमा यस्तो व्यापारले सहरमा रौनक थपिन्छ ।
यसले पनि गर्मी याममा रात परेपछि शीतल खोज्दै सर्वसाधरण घर बाहिर निक्लिने गर्छन् भन्ने पुष्टि हुन्छ । विभिन्न ठाउँबाट परिवार र साथीसित पवन मिष्ठान्न अगाडि भेला हुने सर्वसाधरण अवेरसम्म बसिरहेका हुन्छन् । त्यहाँ बस्नका लागि सुविधा छैन । सर्वसाधरणले उभिएरै र घरका पेटीमा बसेर आनन्द उठाइरहेका देखिन्छन् । जमघट हुन थालेपछि फलफूल व्यापारी समेत त्यहीँ आउने गरेका छन् । यसले रात रमाइलो हुन्छ । अर्को तर्फ बजारमा किनमेल बढ्छ । साथै गर्मीबाट सर्वसाधरणलाई राहत मिलेको छ ।








प्रतिकृया दिनुहोस्