June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

लुम्बिनीमा चार लाख ७० हजार ५४२ पर्यटक

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा गत वर्ष भन्दा यस वर्ष पर्यटक आगमन बृद्धि भएको छ । लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार सन् २०२३ को पाँच महिनामा चार लाख ७० हजार ५४२ पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् । यो तथ्यांक आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकको हो ।

Advertisement

‘जनवरीदेखि मे महिनासम्म पर्यटक आगमन राम्रो छ’, कोषमा सूचना अधिकृत राजन बस्नेतले भने, ‘आगामी महिनाहरुमा पनि यस्तै गरी पर्यटक भित्रिए भने कारोनाकाल अघिको अवस्थामा लुम्बिनीको पर्यटन क्षेत्र फर्किन सक्छ ।’ उनले अहिले चर्को गर्मीकाबीच पनि पर्यटक आगमन बढ्नु समग्र पर्यटन क्षेत्रका लागि सुखद् समाचार भएको जनाए ।

Advertisement

‘पछिल्लो समय लुम्बिनीमा ठूला कार्यक्रमहरु पनि भएका छन्, यसले पनि पर्यटकलाई आकर्षित गरेको हो’, उनले भने, ‘लुम्बिनीको पर्यटनलाई गुल्जार बनाइराख्न हामी लागिपरेका छौं ।’ गतवर्ष सन् २०२२ मा भन्दा यो वर्ष १ लाख आठ हजार ४८६ ले बढी पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । अघिल्लो वर्ष जनवरीदेखि मेसम्म पाँच महिनाको अवधिमा तीन लाख ६२ हजार ५६ पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए । ‘तथ्यांकले पनि लुम्बिनीमा पर्यटक आगमन बढेको देखाउँछ । अब सबै मिलेर लुम्बिनीमा पर्यटक टिकाउने वातावरण सिर्जना गर्नुपर्छ, यसका लागि विकास कोषले सबै पक्षसँग सहकार्य गरेर अघि बढ्न तयार छ’, कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले भने ।

कोषको तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि मे महिनासम्म ३ लाख २४ हजार २६८ आन्तरिक पर्यटक लुम्बिनी आउँदा १ लाख ११ हजार ८६१ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यस्तै, तेस्रो मुलुकका ३४ हजार ४१३ पर्यटकले भ्रमण गरेका छन् । ६७ देशका पासपोर्ट होल्डर लुम्बिनी आएको तथ्यांक विकास कोषसँग छ । विगतमा एक सय बढी मुलुकका पर्यटक लुम्बिनी आउँथे ।

अघिल्लो वर्ष आन्तरिक २ लाख ८९ हजार ५९४, ६९ हजार ७७५ भारतीय र २ हजार ६८७ तेस्रो मुलुकका लुम्बिनी आएका थिए । सूचना अधिकृत बस्नेतका अनुसार नेपाली र भारतीयसहित तेस्रो मुलुकबाट थाइल्याण्ड, श्रीलंका, म्यानमार, भियतनाम, कोरिया, चीन लगायतका देशका पर्यटक लुम्बिनीमा बढी आएका छन् ।