८४ वर्ष उमेर पुगेकालाई २५ हजार


अर्घाखाँची– जिल्लाको शितगंगा नगरपालिकाले ८४ वर्ष उमेर पूरा भएका बृद्धलाई प्रोत्साहन स्वरुप जनही २५ रुपैयाँ उपलब्ध गराउन थालेको छ । यस्ता व्यक्तिको रेखदेख र पालनपोषणमा मद्दत पुग्ने भएकाले पालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ । समाजमा ८४ वर्ष उमेर पुगेकाको पूजा गर्ने चलन छ । पूजामा सहयोग पुगोस् भन्ने उद्देश्य रहेको पालिकाले जनाएको छ ।
पालिकाले यस्तो सहयोग उनीहरुको बैंक खातामा जम्मा गरिदिन्छ । उक्त सहयोग कार्यक्रमको सुरुवातमा जनप्रतिनिधि र कर्मचारीले घरमै पुगेर २५ हजार रुपैयाँ उपलब्ध गराएका थिए । स्थानीय ८५ वर्षीय हुमलाल गैरेले नगरपालिकाले दिएको २५ हजार र केही रकम वृद्धिभत्ताको गरेर तीर्थव्रत गर्न जाने सोच बनाएको बताए ।
‘मठमन्दिरमा पुगेर दर्शन गर्ने, पुजापाठ गर्ने काममा खर्च गर्छु,’ उनले भने, ‘मर्ने बेलामा धर्मकर्म गर्नुपर्छ । धेरै उमेर बाँचेपछि सम्मान पाइयो, धेरै देख्न पाइन्छ, म यो सम्मानले हर्षित छु, हामी जस्ता बुढालाई नगरपालिकाले सम्झेकोमा खुसी छु ।’ उनीहरु सहित नगरपालिका भित्रका ३ सय ५ जना ८४ वर्ष उमेर पुगेकालाई २५ हजार रुपैयाँका दरले रकम दिएको छ ।
‘८४ वर्ष उमेर पुगेपछि धार्मिक मान्यता अनुसार चौरासी पुजा गर्ने चलन छ, त्यसको सम्मान स्वरुप रकम उपलब्ध गराएका हौं,’ शितगंगा नगरपालिका उपप्रमुख गिता भाट्ले भनिन्, ‘धेरैले जीवनकालमा सामाजिक काम र समाज सुधारमा महत्वपूर्ण योगदान पुर्याएका छन् । यस्ता जेष्ठ नागरिकलाई सम्झिनैपर्छ भनेर कार्यपालिका बैठकले निर्णय गरेर बजेट छुट्टाएका हौं ।’ डिँहडुल गर्न सक्नेलाई वडा कार्यालय बोलाएर र नसक्नेलाई घरमै पुगेर सम्मान गरी जनताको काम गर्न आफूहरुले आशीर्वाद लिएको उनले बताइन् ।








प्रतिकृया दिनुहोस्