June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

राजश्व असुली लक्ष्यभन्दा आधा

बाँके– नेपालगंज भन्सार कार्यालयको राजश्व असुलीमा गिरावट आएको छ । आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा नेपालगञ्ज भन्सारले लक्ष्यको आधा मात्रै राजश्व संकलन गरेको छ । जसले गर्दा कार्यालयले राजश्व संकलन लक्ष्य पूरा नगर्ने निश्चित छ ।

Advertisement

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्मा भन्छन्, ‘हामीले भन्सारमा कडाई गरेका छौं, चोरीतस्करी रोक्न गस्ती गरिरहेका छौं तर राजश्व असुली लक्ष्यमा पुग्न नसकिने निश्चित भएको छ’, उनले भने, ‘असार अन्तिमसम्म ८० प्रतिशतसम्म राजश्व संकलन गर्न सकिन्छ की भनेर लागिपरेका छौं ।’ उनका अनुसार चालु आर्थिक वर्षमा २९ अर्ब ३२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा वैशाखसम्ममा १५ अर्बमात्रै राजश्व संकलन भएको छ ।

Advertisement

पश्चिमको व्यस्तमध्येको यो नाकामा वैशाखसम्ममा ५५ अर्ब मूल्य बराबरको पैठारी भएको छ भने दुई अर्ब मूल्य बराबरको निकासी भएको छ । नेपालगञ्ज नाकाबाट डिजेल, चामल, एलपी ग्यास, स्पोन्ज आइरन, मकै, चिनी, पेट्रोल, स्टील वायर रड, भटमास, दाल, तोरी, आलुलगायत बस्तु धेरै भित्रिन्छ ।

यो नाकाबाट जडीबुटी, खोटो रोजिन, खयर कत्था, प्लाइउड, तारपिन तेल, रिठ्ठा, अदुवा, सुठो, दालचिनी निकासी हुन्छ । आर्थिक मन्दीको प्रभाव राजश्व असुली प्रत्यक्ष देखिएको छ । यो नाकामा गतवर्ष पनि लक्ष्यभन्दा कम राजश्व संकलन भएको थियो ।