June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

नापी कार्यालयबाट जग्गाको कित्ता गायव

बर्दिया– जिल्ला सदरमुकाम गुलरिया नगरपालिका–९ स्थित खालेपुरुवाका मुसर्रफ शेष अंशवण्डा भएपछि जग्गाको कित्ताकाट गर्न एक महिना अघि नापी कार्यालय पुगे । त्यहाँ उनको नाममा रहेको जग्गाको कित्ता अर्कैकोमा दर्ता रहेको पाइयो । त्यो देखेपछि उनी आश्चर्यमा परे ।

Advertisement

नापी कार्यालयकै कर्मचारीको मिलेमतोमा यसरी कित्ता गायब पारिएको उनले पब्लिक कुरासित गुनासो पोखे । ‘उक्त जग्गामा हुर्काइएका ११ वटा सागुन, दुईवटा ऑप र एउटा कटहरको रुख काटेर लगे,’ उनले भने, ‘जग्गा छुट्याउने नाममा अमिनले ४ हजार रुपैयाँ मागेका थिए, दिन सक्दिनँ भनेपछि यस्तो गरेको हुन सक्छन् ।’ अमिनले जग्गाको कित्ता अर्कैको नाममा गरेर रुख कटाउन लगाएको उनले आरोप लगाए ।

Advertisement

रुख कटान भए लगतै गाउँमा विवाद भयो । त्यसपछि अमिनले कित्ताकाट सुधारेर पुनः शेषको नाममा मिलान गरेको पाइएको छ । रुख काटेको क्षतिपूर्ती पाएनन् । नापी कार्यालयका प्रमुख किशन सिंह विष्टले कर्मचारीले नाजायज रकम माग्ने र काम ढिलासुस्ती गरेको जानकारी सेवाग्राहीबाट नआएको बताए । समस्यामा परेका सेवाग्राही कार्यालय प्रमुखसँग आफ्ना गुनासो लिएर आउन आग्रह गरे ।

पीडित सेवाग्राहीले तलदेखि माथिसम्म सेटिङमा हुने काम समाधान हुनेमा आशंका गरेका छन । नियमनकारी निकायले नापी जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदान गर्ने कार्यालयको अनुगमन गरि सेवा प्रभावकारी बनाउन सके राहत हुने स्थानीय बताउँछन् ।