June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

नक्कली मह नष्ट

रुकुम – रुकुम (पूर्व) मा दुई सय २२ किलो नक्कली मह नष्ट गरिएको छ। रुकुम(पूर्व)को भूमे गाउँपालिका- २ खाबाङ बगरमा बेवारिसे अवस्थामा रहेको महलाई प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको हो।

Advertisement

भूमे-२ स्थित इलाका प्रहरीचौकी काक्रिको टोलीले गस्तीको क्रममा आठ पहेलो जरकिनमा र १६ सानो प्लास्टिकको डिब्बामा राखेको अवस्थामा नक्कली मह फेला पारेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जानकारी दिएको छ।

Advertisement

उक्त नक्कली महलाई सरोकारवाला निकायको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख अन्जना श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार यस्तो नक्कली मह बनाई बिक्री वितरण तथा अन्य प्रयोजनले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले सो कार्य कसले किन र कहिलेदेखि गर्यो, यसमा कोको संलग्न छन भनी अनुसन्धान भइरहेको छ।

प्रहरीले यस अगाडि पनि ८० किलो भिर मौरीको मह जिल्लाभित्रै बेवारिसे अवस्थामा फेला परेको थियो। यसलाई जिल्लाको डिभिजन वन कार्यालयमा पठाई परीक्षण पश्चात लिलाम गरिएको प्रहरीले जानकारी दिएको छ।