‘उद्योगी–व्यवसायी एकढिक्का भएर आवाज उठाउनुपर्छ’


भैरहवा– आर्थिक मन्दी हुँदा समेत सरकारले समग्र निजी क्षेत्रको मागलाई बेवास्ता गरेको भन्दै उद्योगी–व्यवसायीले एकढिक्का भएर आवाज बुलन्द गर्नुपर्ने जनाएका छन् । उनीहरुले अहिले सबैतिरबाट निजी क्षेत्र चेपुवामा परेको जनाउँदै निजी क्षेत्रका संघसंस्था मिलेर आवाज उठाउनुपर्ने बताए ।
अध्ययन अवलोकन भ्रमण तथा अन्तरचेम्बर भेटघाट कार्यक्रमका लागि पोखरा पुगेको चेम्बर अफ कमर्स, रुपन्देहीको टोलीलाई पोखरा चेम्बर अफ कमर्सले आयोजना गरेको स्वागत, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमारज्ञवालीले उद्योगी–व्यवसायीका माग सम्बोधन गर्न एकढिक्का भएर अघि बढ्न र आवाज उठाउन आवश्यक रहेको बताए । उनले विगतमा पनि एकढिक्का भएर बढ्दो बैंक ब्याजदरविरुद्ध आवाज उठाएको बताए ।
‘अहिले हामी चेपुवामा छौं । सहकार्य गर्दै अघि बढ्नुपर्छ । यसले समस्या समाधानका लागि थप सहयोग पुग्छ’, अध्यक्ष ज्ञवालीले भने, ‘सबै निजी क्षेत्रका व्यवसायी मिलेर आवाज उठाउँदा सरकारले सम्बोधन गर्ने हाम्रो विश्वास छ ।’ सरकारले उद्योगी–व्यवसायीका कतिपय माग सम्बोधन गर्न बाँकी रहेकाले एकताबद्ध हुन जरुरी रहेको उनले सुनाए ।
उनले अन्तरचेम्बर भेटघाट कार्यक्रमले विभिन्न चेम्बर अफ कमर्सबीच बलियो सम्बन्ध स्थापित गर्न र व्यवसाय प्रवद्र्धनका लागि सहयोग पुर्याउने बताए । उनले चेम्बर अफ कमर्स, रुपन्देहीले विकास निर्माण कार्यमा चासो राख्दै विभिन्न निकायसँग सहकार्य गर्दै आएको बताए । उनले पोखरा चेम्बर अफ कमर्स, कास्कीलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न आग्रह गरे ।
त्यस्तै, पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष यामनाथ पौडेलले चेम्बर अफ कमर्स, रुपन्देहीको टोलीलाई पर्यटकीय नगरी पोखरामा स्वागत गर्न पाउँदा खुसीको अनुभूति भएको बताए । उनले समग्र व्यवसायीको हकहित र व्यवसाय प्रवद्र्धनका लागि आवश्यकता महसुस गर्दै पोखरा चेम्बर अफ कमर्स स्थापना गरिएको बताए । उनले व्यवसायिक संघ–संस्थाले सामाजिक क्षेत्रमा काम गर्न जरुरी रहेको बताए । उनले उद्योगी व्यवसायीका माग र समस्या सम्बोधन गर्न चेम्बर अफ कमर्सहरुबीच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारी, उद्योग उपाध्यक्ष तथा भ्रमण संयोजक रामचन्द्र रेग्मी, महासचिव सचिन रोक्का, सचिवालय सदस्य सुरेन्द्र पाण्डे, रोशनबहादुर थापालगायतले बोल्दै व्यवसाय प्रवद्र्धनका लागि मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष यामनाथ पौडेलको अध्यक्षता, चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको प्रमुख आतिथ्यता, पोखरा चेम्बर अफ कमर्सका सचिवालय सदस्य सिमा कोइरालाको स्वागत तथा महासचिव नवराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही पोखरा महानगरपालिका–२६ गुँदेतालस्थित कुनो एकीकृत कृषि फर्म प्रालि (कालिज फर्म) को अवलोकन समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस्