लुम्बिनी–गोरखा पर्यटकीय विकासमा जोड


भैरहवा– चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र गोरखा चेम्बर अफ कमर्सले बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई गोरखासम्म पुर्याउन वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । साथै यी दुई संस्थाले गोरखा आउने पर्यटकलाई पनि भैरहवा–लुम्बिनी लगायत रुपन्देहीका गन्तव्यसम्म पुग्ने वातावरण गराउनु पर्नेमा जोड दिए । गोरखा र रुपन्देहीका पर्यटकीयस्थललाई प्रबद्र्धन गरेर त्यस्तो वातावरण बनाउनुपर्ने दुई संस्थाको हो छ ।
अध्ययन अवलोकन भ्रमण तथा अन्तरचेम्बर भेटघाट कार्यक्रमअन्तर्गत बुधबार गोरखा पुगेको संगठनको टोलीलाई गोरखा चेम्बरले गरेको स्वागत तथा छलफलमा बोल्ने उद्योगी व्यवसायीले यस्तो कुरामा जोड दिएका हुन् । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले संगठनले विभिन्न मेला महोत्सव लगायतका कार्य गरी व्यवसायिक वातावरण बनाउँदै आएको बताए । उनले रुपन्देहीमा भएका विकास निर्माण कार्यहरुमा संगठनले निरन्तर सल्लाह सुझाव दिँदै विकाससँग उद्योग ब्यापारलाई जोड्न समेत पहल गरिरहेको बताए ।
‘विभिन्न चेम्बर अफ कमर्सबीच सम्बन्ध बलियो बनाउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अध्ययन अवलोकन भ्रमण कार्यक्रम गरिएको हो । यसले चेम्बर अफ कमर्सबीच थप बलियो सम्बन्ध स्थापित गर्नेमा विश्वस्त छौं । यसले आन्तरिक पर्यटन प्रबद्र्धन र रुपन्देही–गोरखाको पर्यटन विकासमा टेवा पुग्ने छ’, उनले भने । अध्यक्ष ज्ञवालीले लुम्बिनीमा आउने पर्यटकलाई गोरखा र गोरखा आउने पर्यटकलाई लुम्बिनी लैजान आ–आफ्नोतर्फबाट पहल गर्नुपर्ने बताए । संगठनले वार्षिक कार्ययोजना बनाएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको ज्ञवालीको भनाइ छ । चेम्बर अफ कमर्स, रुपन्देहीमा हाल ५ हजार जना सदस्यहरु आबद्ध रहेको उनले जानकारी दिए ।
गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले संस्थाले उद्योगी–व्यवसायीको हकहीतमा काम गर्दै नेतृत्व विकासमा ध्यान दिँदै आएको बताए । उनले गोरखा चेम्बर अफ कमर्स छोटो समयमा अब्बल संस्थाको रुपमा स्थापित भएको बताए । ‘दशैं सस्तो बजार मेला, व्यापार मेला, सडक महोत्सव, स्वास्थ्य सामग्री वितरण, अन्तर चेम्बर भ्रमण, करसम्बन्धी सचेतनालगायत कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं । यसले यहाँको आर्थिक गतिविधिमा सहयोग पुगेको विश्वास छ’, उनले भने ।
उनले रुपन्देही र त्यसमा पनि लुम्बिनी आउने पर्यटकलाई गोरखासम्म ल्याउन भैरहवाको चेम्बरले सहयोग गर्नुपर्न बताए । गोरखाबाट रुपन्देहीका गन्तव्यमा पर्यटक पठाउने वातावरण बनाउन आफूहरुको पहल हुने उनले बताए । संस्थामा हाल ४२५ जना सदस्य आबद्ध रहेको उनले जानकारी दिए । गोरखा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठले संस्थाको सीमित आम्दानी मुख्य चुनौती रहेको बताए ।
वार्षिक कार्ययोजनाअन्तर्गत आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विभिन्न चेम्बर अफ कमर्सबीच थप प्रगाढ सम्बन्ध स्थापना गर्ने उद्देश्यले गोरखा, पोखरालगायत स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको संगठनका उद्योग उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले बताए । चारदिने भ्रमण टोलीमा २० जनाको सहभागिता रहेको संगठनका महासचिव सचिन रोक्काले जनाए । गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव विष्णु राना मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रतिकृया दिनुहोस्