संक्षिप्त भन्सार प्रज्ञापनपत्र लागु र सीमामा कडाइ गर्न माग


भैरहवा– घरायसी प्रयोजनका सामानको नाममा सीमावर्ती भारतीय बजारबाट नेपाली उपभोक्ताले ल्याउने सामानमाथि भन्सार लगायतका सम्बन्धित निकायहरुले कडाई नगर्दा नेपाली बजार धरासायी हुन पुगेको गुनासो स्थानीय व्यवसायीले गरेका छन् । खुल्ला सीमानाले पारेको असरका विषयमा सिद्धार्थ उद्योग वाणिज्य संघ, भैरहवाले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले घरायसी प्रयोजनको नाममा बिना भन्सार सामान नेपाल भित्रिने र ति सामानसँग भन्सार लगायतका कर तिरेर बैध आयात गरेका सामानले प्रतिष्पर्धा गर्न नसक्दा स्वदेशी बजार धरासायी हुन पुगेको बताए ।
यो समस्या समाधानका लागि भन्सार विभिागले लागु गरेको संक्षिप्त प्रज्ञानपत्रको नियमलाई कडाइकासाथ कार्यान्वयन गर्नुपर्ने माग व्यवसायीले गरेका छन् । ‘घरायसी प्रयोजनको नाममा दैनिक करोडौंको सामान भारतको सुनौली बजारबाट मात्रै नेपाल छिर्ने गर्छ तर भन्सारमा संक्षिप्त प्रज्ञापनपत्र भने दैनिक दश–बाह्र वटा भन्दा हुँदैन’, संघका पूर्वअध्यक्ष तथा स्थानीय कपडा व्यवसायी ओमकार गौचनले भने, ‘संक्षिप्त भन्सार प्रज्ञापनपत्र कडाइकासाथ लागु नभएसम्म यो प्रक्रिया रोकिनेवाला छैन ।’
घरायसी प्रयोजनको नाममा र पेशेवर क्यारियर मार्फत् भारतीय बजारबाट भित्रिने गरेका विभिन्न सामान नेपालकै व्यवसायीले खरिद गरि बिक्री गर्ने गरेको बताउँदै गौचनले बिना बिलबिजकको त्यस्ता सामान नेपाली व्यवसायीले खरिद नगर्ने परिपाटी बसालेमा अवैध कारोवार निरुत्साहित हुने बताए । एक सय रुपैयाँ भन्दा धेरै मूल्यको बिदेशबाट खरिद गरि नेपाल ल्याइने सामानमा संक्षिप्त भन्सार प्रज्ञापनपत्र भर्नु पर्ने भन्सार नियममा उल्लेख छ । तर, व्यवहारिक कारण जनाउँदै भन्सार कर्मचारी र सुरक्षाकर्मीले यसमा कडाइ गर्न सकेका छैनन् ।
एउटै व्यक्तिले एकै पटकमा ३५–४० हजार रुपैयाँ भन्दा धेरैको सामान झोला भरि ल्याउने गर्छन् । बोवाइल र बहुमूल्य कपडा लगायतका सामान त एकै पटकमा लाख भन्दा धेरैको भित्रिने गर्छ । संघका निबर्तमान अध्यक्ष कुलप्रसाद न्यौपानेले हिजोको नियम अनुसार संक्षिप्त भन्सार प्रज्ञापनपत्र १ सय रुपैयाँसम्मको सामानमा लाग्ने अव्यवहारिक भएमा हिजो त्यो मूल्यलाई अहिलेको परिप्रेच्छमा लागु हुने मूल्यसँग समायोजन हुने गरि परिवर्तन गरेर भए पनि संक्षिप्त भन्सार प्रज्ञापनपत्र लागु गर्नुपर्ने बताए ।
‘यदि अहिले घरायसी सामानलाई ५ हजार रुपैयाँसम्मको छुट दिने हो भने त्यही किसिमबाट ऐन परिवर्तन गरेर लागु गर्नुपर्छ’, उनले भने, ‘यसका लागि उद्योग वाणिज्य संघ लगायतका सवै उद्योगी व्यवसायिक संस्था ऐक्यबद्धता गर्दे कार्यान्वयका लागि दवावमूलक कार्यक्रम संचालन गरौं ।’ सीमावर्ती भारतीय बजार सुनौली र नौतनवादेखि विभिन्न खाद्यान्न, भाडावर्तन, कपडा, श्रृंगारका सामान, हार्डवेयरका सामान, पंखा, पानी तान्ने मोटर, बिद्युतीय सामाग्री, खेलौना, निर्माणजन्य सामाग्री लगायतका सामान घरायसी प्रयोजनका नाममा भित्रिने गर्छन् । पेशेवर क्यारिअरको माध्यमबाट पनि विभिन्न निकायका कर्मचारीसँगको मिलोमतोमा बिना भन्सार नेपाल भित्रिएर व्यवसायीको पसलमा पुग्ने गर्छ ।
संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले खुल्ला सीमाना हुँदै बिना भन्सार भारतीय सामान नेपालमा भित्रिएर व्यापारिक कारोबार हुने गर्दा स्वदेशी बजार धरासायी हुनबाट जोगाउन संघले चाँडै नै सीमानामा दवावमूलक कार्यक्रम संचालन गर्न लागेको जनाए । ‘भारतीय सीमावर्ती बजारमा व्यवसायिक कारोबार बढोस् हाम्रो भन्नु केही छैन’, श्रेष्ठले भने, ‘त्यहाँ खरिद गरिएका सामाग्री नेपाल आउँदा बिना भन्सार छिर्न नपाउन् भन्नेमा हाम्रो सरोकार र चासो हो ।’ उनले सरकारी निकायले सीमामा कडाई गर्ने र अवैध सामान भित्रिन नदिन चनाखो बन्ने हो भने नेपाली बजार फस्ट्याउने जनाए । यसले मुलुकको राजश्व लगायत समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्