June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

सियारीमा आवधिक योजनाका विषयमा छलफल

भैरहवा– रुपन्देहीको सियारी गाउँपालिकाले आगामि ५ बर्ष भित्र सम्पन्न गर्ने कार्यक्रम तय गर्ने उद्देश्य अनुरुप प्रथम आवधिक योजनाको छलफल गरेको छ । सियारीले आगामी दिनमा गर्ने कार्यक्रमका बिषयमा समस्टिगत सोंच, लक्ष्य, उद्देश्य, रणनीति सहितको आवधिक योजनाका बिषयमा छलफल गरेको हो ।

Advertisement

पालिकाका अध्यक्ष, उपाध्यक्ष, सातैबटा वडाका अध्यक्ष, शाखा प्रमुख, बिषयगत प्रमुख, वडा सचिव, प्राबिधिक लगायत कार्यपालिका सदस्य एवं अन्य कर्मचारीलाई समेटेर दुईदिनसम्म आबधिक योजनाका बिषयमा छलफल चलाएको थियो । पालिकाले तय गर्ने आबधिक योजनाको सोंच, लक्ष्य, उद्देश्य र रणनीति बिषयमा संघीय मामिला मन्त्रालयका अधिकृत गोविन्द केसीले प्रशिक्षण दिएका थिए ।

Advertisement

सियारीले कृषिको व्यवसायीकरण, पर्यटकीय क्षेत्रको विस्तार, दिगो पूर्वाधार तथा सामाजिक पुँजीको निर्माण मार्फत समतामूलक, स्वच्छ, सुशासनयुक्त र समृद्ध गाउँपालिकाको आधार निर्माण गर्ने लक्ष्य लिएको अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले कृषि, पर्यटन, र दिगो पूर्वाधारयुक्त नगरी ः समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी भन्ने दीर्घकालिन सोच लिएको जनाए । उनले सियारीलाई माछामा जस्तै तोरी, हल्दी र खुर्सानीमा आत्मनिर्भर गराउने गरी काम थालिएको बताए ।

पालिकाले गाउँपालिकाको हालसम्मको बार्षिक बजेट तथा कार्यक्रम र नीति तथा बिभिन्न बिषय क्षेत्रगत रणनीतिलाई प्रमुख आधारको रुपमा लिदै आवधिक योजनामा छलफल भएको थियो । गाउँपालिकाले आर्थिक, सामाजिक तथा भौतिक बिकासको लागि लगानी बृद्धिगरी उपरोक्त लक्ष्य हासिल गर्न बिभिन्न उद्देश्य लिइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

सियारीले कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको उत्पादन, रोजगारी र आयमा समाबेशी, गुणात्मक र दिगो वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्ने, स्वस्थ, सृजनशील, सहिष्णु र सीपयुक्त मानव पुँजीको निर्माण गर्ने लगाएतका उद्देश्य लिइएको प्रवत्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दीपकबहादुर शाहिले जानकारी दिए । उनले गुणस्तरीय तथा प्रयोगकर्ता मैत्री आधारभूत भौतिक पूर्वाधारको दिगो बिकास सहित अन्तरआवद्धता सहज, सुरक्षित र व्यवस्थित बनाउने, गाउँपालिकाको सुशासन, सेवा प्रवाह, विकास उपलब्धी र जवाफदेहिताको स्थितिमा गुणात्मक वृद्धि गर्नु लगाएतका थप उद्देश्य लिएको बताए ।