रेसुङ्गा विमानस्थलबाट व्यावसायिक उडान सुरु


गुल्मी– निर्माण सम्पन्न भएर तीन–तीन पटक परीक्षण उडान गरिएको गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा व्यवसायिक उडान सुरु भएको छ । काठमाडौं–गुल्मी–काठमाडौं नेपाल वायुसेवा निगमको जाहाजमार्फत् व्यवसायिक उडान सुरु गरिएको हो। नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइनको जहाजले काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा उडान भरेको हो ।
चालक दलका सदस्य बाहेक १३ जना यात्रु बोकेर रेसुङ्गा विमानस्थलमा ओर्लिए जहाजले यहाँबाट १४ यात्रु बोकेर ७ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर आयुशा कार्कीले बताइन् । विमानस्थलका अनुसार अब यहाँबाट हप्ताको २ दिन मंगलबार र शुक्रबार नेपाल वायुसेवाले उडान भर्नेछ ।
रेसुङ्गा विमानस्थल सञ्चालन हुनुपूर्व गुल्मी जिल्लावासीले रुपन्देहीको भैरहवासम्म गाडीमा र त्यहाँबाट हवाई जहाज चढेर काठमाडौं जाने गर्दथे । काठमाडौंबाट फर्किंदा पनि भैरहवासम्म हवाईजहाजमा र त्यसपछि झण्डै ५ घण्टा गाडीमा यात्रा गर्नुपर्ने बाध्यता थियो । गाडीबाट गुल्मी–काठमाडौं यात्रा भने झण्डै १३ देखि २२ घण्टाको हुने गर्दछ । अब जिल्लाबाटै हवाईजहाज चल्ने भएपछि गुल्मेलीले खुशी भएका छन् ।
रेसुङ्गा विमानस्थलबाट काठमाडौंसम्मको हवाईजहाजको भाडा प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ तोकिएको छ । यसैगरी काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ भाडा तोकिएको छ । काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्मको दुरी ५० मिनेटको छ ।








प्रतिकृया दिनुहोस्