May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

प्रदेश राजधानी सरेपछि बुटवलको ब्यापार सुस्तायो

भैरहवा– रुपन्देहीको प्रमुख व्यापारिक केन्द्र बुटवलबाट प्रदेश राजधानी सरेपछि व्यापार सुस्ताएको छ । परम्परादेखि ब्यापारको केन्द्र रहेको सहरमा अहिले व्यावसायी पलायन भइरहेका छन् । बजार क्षेत्रमा धेरै सटर खाली भएपछि स्थानीय व्यापारिक संघसंस्थाले चिन्ता व्यक्त गरेका छन् । दुई महिना यता बुटवल उद्योग वाणिज्य संघले व्यापारी पलायन रोक्न र बुटवलको व्यवसाय कसरी उकास्न सकिन्छ भनेर छलफल चलाइरहेको छ ।

Advertisement

प्रदेश राजधानी कायम भएपछि बुटवलमा नयाँ व्यवसाय सञ्चालनमा आउनुका साथै होटल र तथा रेष्टुरेन्ट खुलेका थिए । राजधानीलाई स्थायित्व दिन संघसंस्थाले निर्माण गरेका भवनमा सरकारलाई उपलब्ध गराएका थिए । ती अहिले खाली छन् । २०७७ साल असोज २१ गतेको प्रदेशसभाको बैठकले दाङको देउखुरी उपत्यकालाई लुम्बिनी प्रदेशको राजधानी बनाउने प्रस्ताव बहुमतले पारित गरेको थियो । केही समय अस्थाई मुकाममा रहेको प्रशासनिक केन्द्र चुनाव लगत्तै दाङ पुगेको छ । राजधानी सरेपछि बुटवलका बासिन्दा निरास छन् ।

प्रदेश सरकार गठन भएपछि बुटवलमा स्थायी राजधानी रहन्छ भन्ने आशा बोकेका व्यावसायी र व्यावसायिक संघसंस्थाले आफ्ना कार्यालय सारेर भवन सरकारलाई प्रदान गरे । तर, स्थायी राजधानी दाङ कायम भयो । सुरुमा प्रदेश सांसद र कर्मचारीलाई माला लगाएर आफ्नो भवन दिएका संघसंस्थाले धन्यवाद समेत नपाएको गुनासो गरे । ‘भवन हस्तानतरणको कुरा त परै जाओस्, हामीले हाम्रो संरचना जस्तो दिएको त्यो अवस्थामा पनि छैन,’ बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवलप्रसाद कसजुले गुनासो गरे ।

८ वटा एसी भएको, कार्पेट र गलैंचाले सजिएको ९ सय जना अट्ने नवनिर्मित सभाहलसहित संघको भवन प्रदेश सरकारको प्रदेश सभा संचालानार्थ दिएको उनले बताए । कसजुका अनुसार उक्त भवन जिर्ण अवस्थामा छोडिएको थियो । रुपन्देही उद्योग संघले आफ्नो भवन प्रदेश सरकारलाई दिएको थियो । कोलनिकाको कार्यालय रहेको उद्योग संघको भवनमा पार्टिसन गरेर बनाइएका संरचनाले सभाहल र संघको भवन कुरुप बनेको संघका उपाध्यक्ष जीवकान्त काफ्लेले बताए । सरकारलाई भवन दिएपछि आफूहरुको हरेक कार्यक्रम बाहिर गर्नुपर्दा वार्षिक १५ लाख रुपैयाँ भार खेपेको बताए ।

‘हामीले त उत्साहित भएर भवन दिएका थियौं,’ उनले भने, ‘अन्य ६ वटै प्रदेशमा अस्थायी मुकाम स्थायी बन्दा हामीलाई झुक्याएर सरकारले राजधानी सार्नु निराशाजनक स्थिति हो ।’ होटल तथा रेष्टुरेन्ट व्यावसायी माधवलाल खनालले अर्बौं लगानी थपिएको होटल व्यावसाय राजधानी सरेपछि सुस्ताएको बताए । सरकार अन्तर्गतका विभिन्न विभागले आयोजना गर्ने गेका हरेक कार्यक्रम, गोष्टी, तालिम रोकिएको उनले बताए । ‘हामीले केही न केही आम्दानी हुन्छ भनेरै ऋणमा लगानी थप्दै गएका थियौं,’ उनले भने, ‘राजधानी सरेपछि सबै सेलायो, निराशाको सिमा छैन ।’

ठूलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको शहर, पर्यटकको ओइरो होला, यहीं राजधानी भएपछि अन्य जिल्लाका मानिस समेत बास बस्न, खाजा, खाना खान आउने गरेको उनले बताए । ‘हामी व्यवसायी सरकार, बैंक, जताततैबाट मारमा छौं,’ उनले भने, ‘अब व्यावसाय उकास्ने सपना छैन, ऋण तिर्न पाए अरु विकल्प खोज्नुपर्ने बाध्यता आइलागेको छ ।’ धमाधम सटर खाली हुँदै गएका छन् । यहाँ पछिल्लो समय २ सयको हाराहारीमा सटर खाली भएको बताइन्छ । व्यवसाय ठप्प भएपछि व्यवसायी पलायन हुँदा खटर खाली भएका हुन् ।