May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

‘लघुवित्तले स्वरोजगार प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएका छन्’  

भैरहवा– स–सानो पुँजी संकलन गरेर स्वरोजगार प्रबद्र्धन र बचत विकासमा सहयोग गर्दै आएका लघुवित्तीय संस्थाहरुको संरक्षणमा सबैले उत्तिकै ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुविरुद्ध आन्दोलन भइरहेको जनाउँदै विगतमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी गाउँगाउँमा यस्ता संस्थाले पुर्याएको योगदान विर्सिन नहुने वक्ताहरुको जोड छ ।

Advertisement

शनिबार नेपाल लघुवित्त बैंकर्स संघले भैरहवामा आयोजना गरेको लघुवित्तसँग आबद्ध सदस्यहरुका लागि वित्तीय साक्षरता राष्ट्रिय अभियान अन्तर्गत साक्षरता कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले दिदीबहिनीको रकम तथा ग्रामीण क्षेत्रमा रहेका सानासाना पुँजीहरु संकलन गर्ने, बचतको विकास गर्ने, लगानी गर्ने र स्वरोजगार कार्यक्रममा टेवा पुर्याउने काम लघुवित्तले गर्दै आएको जनाए । उनले यस्ता संस्थामा संरक्षण गरी प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिए ।

Advertisement

‘अहिले लघुवित्तविरुद्ध आन्दोलनका कार्यक्रमहरु भइरहेका छन्, कर्मचारीहरुलाई विभिन्न धम्की आइरहेको जानकारीमा आएको छ, यसलाई रोकेर समाधानको बाटोमा जानुपर्छ’, उनले भने, ‘आवश्यकता अनुसार लघुवित्तका कर्मचारीको सुरक्षा प्रशासनले दिन्छ, तपाईंहरुले ऋण लिएकाहरुबाट ऋण फिर्ता लिनुस्, नसक्नेहरुसँग समन्वय गरेर विकल्प खोज्नुस् ।’ उनले विगतमा आफूसँग रहेको पुँजी स्वरोजगार क्षेत्रमा लगानी गर्न लघुवित्तले सहयोग गरेको स्मरण गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी पाण्डेले लघुवित्त स्थापना अघि सानो ऋण लिन पनि साहुमहाजनहरुसँग जानुपर्ने बाध्यता रहेको जनाउँदै अहिले लघुवित्तकै कारण त्यो समस्या हटेको जनाए ।

नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका निर्देशक सत्येन्द्रराज सुवेदीले लघुवित्तहरुले आफ्ना ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्ने गरेको जनाउँदै यसबाट कयौं ग्रामीण बस्तीका सर्वसाधरण लाभान्वित भएको जनाए । उनले लघुवित्तले नियमविपरीत चर्को ब्याज लिएको भए राष्ट्र बैंकले नियमन गर्ने तर ऋण लिएर तिर्दैन भन्न नुहने जनाए । उनले समस्यामा रहेका र ऋण तिर्न नसक्नेहरुको समस्या छलफलबाट समाधान गर्न सकिने भए पनि ऋण नै तिर्दैन भन्न नमिल्ने जनाउँदै लघुवित्तको संरक्षण गर्नुपर्नेमा जोड दिए । लघुवित्तकै करण कयौं परिवार समृद्ध भएको उनले जनाए ।

सामान्यतया लघुवित्तकर्मीहरुले गाउँघरमा पुगेर त्यहाँ लघुवित्त संस्थाको आवश्यकता छ वा छैन ? त्यहाँका नागरिकहरु लघुवित्तमा जोडिन चाहान्छन् कि चाहादैनन् भन्ने विषयमा सर्भे गरी त्यहाँको जीवनस्तर उकास्न मद्दत गर्दै आएको उनले बताए । सिद्धार्थनगर नगरपालिका पप्रमुख उमा काफ्लेले चर्को ब्याजले केही समस्या निम्तिरहे पनि ऋण लिएपछि तिर्न पर्छ भन्ने मान्यता राख्नुपर्ने जनाइन् । अधिकारीले लघुवित्तहरुले ग्रामीण भेगका गाउँगाउँमा पुगेर आम नागरिकलाई वित्तीय संस्था प्रदान गरिरहेको र नेपालमा जतिपनि लघुवित्तहरुले विशेष गरेर विपन्न महिलाहरुलाई जिविकोपार्जनका लागि कार्यक्रमहरु चलाइरहेका उनले बताइन् ।

नेपाल लघुवित्त बैंकर्स संघका कोषाध्यक्ष एवं उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी प्रमुख प्रेमबहादुर पाठकले लघुवित्तप्रति बाहिर आएका कुराहरुमा सत्यता नरहेको जनाए । उनले न्युनतम ब्याजदरमा ग्रामीण बस्तीहरुमा सेवा पुर्याएका संस्थालाई प्रबद्र्धन र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिँदै चर्को ब्याज लिएर ऋणीलाई उठिबास लगाए भन्ने कुरामा कुनै सत्यता नरहेको दावी गरे । लघुवित्तकै कारण धेरै विपन्नहरु माथि उकासिएको जनाउँदै पाठकले ऋण लिएपछि तिर्न पर्ने जनाए । समस्या देखिएका ठाउँमा आफूहरु सहकार्य गरी समाधान गर्न तयार रहेको जनाउँदै भ्रम फैलाउन नहुनेमा उनको जोड छ । उनले सर्बसाधारण बचत लघुवित्तले फिर्ता गर्नुपर्ने भएकाले ऋणीले ऋण नतिरे धेरै बचत जोखिममा पर्ने भएकाले सबै सचेत हुनुपर्नेमा जोड दिए ।

रुपन्देही लघुवित्त मिलन केन्द्रको अध्यक्ष खुमानन्द पोखरेल सानो पुँजीबाट गाउँबस्तीका जनतालाई उकास्न लघुवित्तले सहयोग गरेको दावी गरे । उनले ऋणीले ऋण फिर्ता नगरे कयौं सर्बसाधारणको बचत र लगानी डुब्ने जनाउँदै वित्तीय संस्थालाई अप्ठ्यारो नहुने गरी सचेत बन्न आग्रह गरे । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रबन्धक अमृत थापाले ऋण लिएर सही ठाउँमा लगानी नगर्दा धेरै ऋणीहरु समस्या परेको तर बैंक वित्तीय संस्थालाई गालीगलौज गर्दै आएको जनाए । उनले धेरै ठाउँमा ऋणीकै कारण समस्या उत्पन्न भएको जनाउँदै ऋण तिर्नमा हिच्किचाहट नगर्न आग्रह गरे । उनले संस्था बचे मात्रै सर्वसाधरण तथा व्यवासायीको विकास र प्रबद्र्धन हुने जनाए ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, लघुवित्त बचकर्ता अमृता राना, टेककुमारी श्रेष्ठ लगायतले बोल्दै वित्तीय संस्था आवश्यक रहेको र यी संस्थाकै कारण अहिले गाउँगाउँमा धेरै स्वरोजगार भएको जनाए । उनीहरुले समस्या देखिएको ठाउँमा समाधान गर्नुपर्नेमा जोड दिँदै कहींकतै समस्या देखियो भन्दै सबै संस्थाहरुलाई नै मर्का पर्ने गरी आन्दोलन गर्ने, ऋण तिर्दैन भन्ने र अपबाह फैलाउन नहुनेमा जोड दिए । लघुवित्त संस्थाहरुमा सदस्य बन्न धनाढ्य मान्छेहरु आउन्नन् । विपन्न र त्यसमा पनि खासगरी विकट क्षेत्रका मान्छेहरु लघुवित्तको सदस्य बन्ने गरेका छन् ।

लघुवित्तमा विशेष गरेर महिलाहरु नै सदस्य छन् । विपन्न परिवारका महिलाहरु जो उद्यमी बन्न चाहान्छन्, स्वरोजगार बन्न खोज्छन् उनीहरुलाई लघुवित्तको प्राथमिकतामा राख्ने गरेको कार्यक्रममा बोल्ने वक्ताले जोड दिएका थिए । रुपन्देहीका करिब एक हजार लघुवित्त बचकर्ता, ऋणी लगायतलाई साक्षरता दिइएको हो । पछिल्लो समय लघुवित्तले चर्को ब्याज लिएको र आफूहरुले तिर्न नसक्ने भन्दै केही ऋणीहरुले आन्दोलनका कार्यक्रम गरिरहेका छन् । रुपन्देहीमा पनि करिब २ हप्ता आन्दोलनका कार्यक्रम भएका थिए । लघुवित्तविरुद्ध आन्दोलनका कार्यक्रम निरन्तर भएपछि नेपाल लघुवित्त बैंकर्स संघले साक्षरता कार्यक्रम गरिरहेको छ ।