राजापुर मूल भन्सार सञ्चालन गर्ने सहमति


बर्दिया– जिल्लाको राजापुरस्थित एक मात्र मूल भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन दुवै मुलुकका सरोकारवाला पक्ष सहमत भएका छन् । दुवै मुलुकका भन्सार प्रमुखको नेतृत्वमा सीमावर्ती भारतको कतरनियाघाटमा बुधबार सम्पन्न छलफलमा आवश्यक प्रक्रिया पुर्याई मूल भन्सार सञ्चालनमा ल्याउन सहमत भएको जनाइएको छ ।
राजापुर मूल भन्सारका प्रमुख मनोज बस्नेत र सीमावर्ती भारत तिकोनियाका भन्सार प्रमुख धर्मेन्द्रप्रसाद सिंहको उपस्थितिमा बैठक सम्पन्न भएको हो । दुवै मुलुकका व्यापारी, स्थानीय प्रहरी प्रशासन मूल भन्सार सञ्चालनमा ल्याउन सहमत भएका छन् । सात वर्षअघि राजापुर मूल भन्सार कार्यालय बन्द भएपछि यहाँबाट हुने आयात निर्यात बन्द भएको थियो ।
एक मात्र नाका बन्द भएपछि कैलालीको भारतसँग जोडिएको खग्रोला नाकाबाट सामान आयात निर्यात हुने गरेको छ । भन्सार प्रमुख बस्नेतले नाकाले वैधानिकता पाए पनि आयात निर्यातमा ठोस सहमति नभएको बताए । ‘खाद्य सामग्री आयात निर्यात गर्दा ल्याब परीक्षण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कृषि उपज र खाद्यान्न आयात निर्यात गर्दा ल्यावको व्यवस्था नभएकाले केही कुरामा सहमति हुन बाँकी नै छ ।’
सात वर्षअघि करिब ४० किमि पूर्व मिहीपुरुवामा स्थान्तरण भएको कस्टम अफिसका कर्मचारी कतरनिया घाटमा फर्कन लागेको उद्योग वाणिज्य संघ बर्दियाका अध्यक्ष केदार थापाले बताए ।








प्रतिकृया दिनुहोस्