June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

रेसुंगा विमानस्थलमा परीक्षण उडान

गुल्मी– गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा शुक्रबार बिहान परीक्षण उडान सम्पन्न गरिएको छ । नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवाको जहाजले उडान भरेको हो ।

यो विमानस्थललाई अब नियमित संचालनको तयारी गरिएको छ । सोही अन्तर्गत परीक्षण उडान गरिएको हो । हुनतः यसअघि पनि यहाँ परीक्षण उडान भएको थियो । तर, अब नियमित उडानका लागि परीक्षण गरिएको जनाइएको छ । विसं २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि केही महिना अघि मात्रै सम्पन्न भएको थियो । कुल रु ३३ करोड लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि एक हजार पाँच सय २६ मिटरको उचाइमा रहेको छ ।

निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको जनाएको छ । लामो समयपछि जहाज चढेर काठमाडौँ जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जनाए । आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए । प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ ।

Advertisement