May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

एनआईसी एशिया बैंकको लुम्बिनी शाखामा केही समय तालाबन्दी

भैरहवा– बैंकले ज्यादती गरेको आरोप लगाउँदै लुम्बिनीस्थित एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालयमा केही समय व्यवसायी र सेवाग्राहीले तालाबन्दी गरेका छन् । उनीहरुले आइतबार लुम्बिनी पुगेर बैंकको शाखा कार्यालयमा तालाबन्दी गरेका हुन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले बैंकले व्यवसायी र सेवाग्राहीमाथि अति नै ज्यादती गरेपछि तालाबन्दी गरिएको बताए । उनले एनआईसी एशिया बैंकले उद्योगी व्यवसायी र सेवाग्राहीलाई दुःख दिएको आरोप लगाए । ८–९ प्रतिशत ब्याजदरमा ऋण दिने भनेर बैंकले सम्झौता गर्ने अनि १८ प्रतिशतसम्म ब्याज लिने गरेको उनको आरोप छ ।

Advertisement

होटल व्यवसायी अकरामुद्दिन खानले बैंकले व्यवसायीको मनोबल गिराउने कार्य गरेको जनाउँदै अब चुप लागेर नबस्ने जनाए । होटल व्यवसायी मेघनाथ आचार्यले एनआईसी एशिया बैंकले झुटको खेती गरिरहेको आरोप लगाए । उनले एउटा व्यक्तिले ऋण तिर्छु भन्दाभन्दै व्यवसायीलाई झुक्याइएको बताए । उनले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

Advertisement

होटल आकाश इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक उमाशंकर मिश्राले असोज मसान्तसम्म बैंकमा कुनै बाँकी वक्यौता नभए पनि पछि बैंकले १० लाख तिर्न आग्रह गरेको र आफूले तिरेको बताए । उनले पटकपटक ऋण तिर्न भन्दै फोन गर्ने र टर्चर दिँदै आएको गुनासो गरे । बैंकको आग्रहअनुसार १० लाख तिरेको तर पछि फेरी ९ लाख तिर्न भनेको उनले बताए । ९ लाख रुपैयाँ तिर्न पनि तयार भइ रकम जुटाउनतर्फ लागेको तर, केही दिनपछि बैंकले फेरि ३० लाख जम्मा गर्न भनेको उनले गनासो गरे ।

उनले तिर्न नभएको पैसा पनि पटकपटक तिर्न भन्दै टर्चर गरे पनि सेवाग्राही र स्थानीय आन्दोलित भई बैकमा तालाबन्दी गरेको जनाए । तालाबन्दीपछि बैंक प्रशासनले समस्या समाधानका लागि छलफल गर्न तयार रहेको भन्दै सोमबारका लागि समय दिएपछि एक घण्टासम्म लगाइएको ताला खोलिएको थियो । घटनाबारे बुझ्दा एनआईसी एशिया बैंक लुम्बिनी शाखा प्रबन्धक प्रविन रायमाझीले सोमबारको छलफल गर्ने भनी सहमति भएको बताए । बैंक कानूनी प्रक्रियाअनुसार नै अघि बढेको बताउँदै उनले सोमबारको छलफल हुने बताए ।