April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

बुटवलमा दुई केबलकार धमाधम निर्माण, पर्यटन क्षेत्रमा उत्साह

बुटवल– मुलुकमै पहिलोपल्ट एउटै जिल्लामा एकैपटक दुईवटा केबलकार निर्माण भइरहेका छन् । रुपन्देहीको बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र बसन्तपुरमा लैजाने योजनासहित दुईवटा केबलकार परियोजना बनिरहेका हुन् । लुम्बिनीसहित प्रदेशका सबैजसो पर्यटकीय गन्तव्यमा आउने पर्यटकलाई ती स्थानामा लैजाने उद्देश्यसहित लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार कम्पनीले केबलकार निर्माण गरिरहेका हुन् । अहिले दुबै कम्पनीले धमाधम निर्माणको काम गरिरहेका छन् ।

Advertisement

वसन्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै भारतीय पर्यटक धेरै भित्राउने लक्ष्यका साथ अहिले केबलकार निर्माणको कार्यलाई तीव्रता दिइएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ बम घाटमा आधार स्टेसन रहेको लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ वसन्तपुरमा छ । यो केबलकार व्यवसायी चन्द्रप्रसाद ढकाल लगायतको समूहको हो । २ महिना भित्र सम्पन्न गर्ने गरी अहिले बुटवल र पाल्पातर्फका स्टेसन निर्माणको काम भइरहेको छ । केबलकारका लागि आवश्यक पोलहरु भने गाड्ने कार्य गरिसकिएको कम्पनीले जनाएको छ ।

Advertisement

लुम्बिनी केबलकारको लागि साँढे तीन अर्ब रुपैयाँभन्दा धेरै लगानी रहेको छ । यहाँ पाँचतारे होटेल र पार्कसहितका संरचना पनि रहेको लगानी अघि धेरै रहेको हो । बसन्तपुर डाँडामा १ सय ५० कोठाको पाँचतारे स्तरको होटेल बन्ने छ । सो निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हुने दाबी कम्पनीको रहेको छ । यो केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । त्यसको केही हप्तामा एमाले उपाध्यक्ष विष्णु पौडेलले शिलान्यास गरेको सिद्धार्थ केबलकारको काम पनि धमाधम भइरहेको छ ।

बुटवलको ऐतिहासिक एवं पुरातात्त्विक महत्व बोकेको मणिमुकुन्द सेन उद्यान फूलबारीदेखि उत्तरपुर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेसन बनाएर निर्माण भइरहेको सिद्धार्थ केबलकार पाल्पाको नुवाकोट पुग्नेछ । त्यहाँ पनि बुटवल र नुवाकोट गढीमा अहिले स्टेसन निर्माणको काम भइरहेको छ । अहिले १२ वाट पोल मध्ये ८ वटा पोल निमार्णको काम सम्पन्न भएको छ । अव बाँकी ४ वटा छिटै निमार्ण हुने छ । सिद्धार्थ केबलकार प्रालिका अध्यक्ष अध्यक्ष राजेन्द्रसिंह गुरुङले यो केबलकार आउने वैशाख महिना भित्र सञ्चालनमा आउने गरी निर्माणको कामलाई तीव्र पारिएको बताए । यहाँ झन्डै १ अर्बको लगानी हुने छ ।

दुवै केबलकारले आफ्नो कामलाई तीव्रता साथ अगाडि बढाएका छन् । पारि बुटवलमा बन्दै गरेको सिद्धार्थ केबलकारको पनि अहिले नुवाकोटमा सुविधा सम्पन्न रिसोर्ट बन्दै छ । त्यस्तै चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र पनि बन्ने छ । त्यसैगरी ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले शान्ति पार्क बनाउने छ भने गुम्बा, भ्यु टावर, स्वास्थ्य केन्द्र लगायतका संरचनाहरु पनि बन्ने छ ।

शिखर देउरालीमा रहेको बेस स्टेसनदेखि नुवाकोट डाँडामा रहेको टप स्टेसनमा ८ मिनेटमा पुग्न सकिने १ दशमलव ९४ किलोमिटर लम्बाइको केबलकारमा एउटा गोन्डुलामा ८ जना यात्रु सवार गर्न मिल्ने २५ वटा गोन्डुला हुने सिद्धार्थ केबलकार प्रा।लिका अध्यक्ष गुरुङले बताए ।

नियमित रुपमा केबलकार सञ्चालनमा आउँदा दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने दाबी कम्पनीको दाबी छ । सरकारले यो केबलकार परियोजनाभित्र पर्ने ६ दशमलव ०९८ हेक्टर वन क्षेत्र ३० वर्षका लागि भोगाधिकारको स्वीकृति दिएको छ । यता बुटवलका पाल्पाकै वसन्तपुर पुग्ने लुम्बिनी केबलकारका पनि आफ्नै विशेषता रहने छन् ।

लुम्बिनी केबलकारमा २५ वटा गोन्डुला (बाकस) हुनेछन् । प्रतिगोन्डुला आठ जना यात्रु सवार गर्न सक्ने छन् ।जसमा प्रतिघण्टा ६ सय जना यात्रु ओहोरदोहोर गर्न सक्ने कम्पनीको दाबी रहेको छ । तीन किलोमिटर क्षेत्रमा निर्माण भइरहेको लुम्बिनी केबलकारले बुटवल ३को चुरे सामुदायिक वन समेतको ३ दशमलव १६ हेक्टर र पाल्पाको तिनाउ–३ को चिउरी डाँडा न्याउली सामुदायिक वन समेतको ३ दशमलव ११ हेक्टर गरी ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ ।

केबलकार परियोजनाले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र प्रयोग गर्न पाउने गरी सरकारले स्वीकृति दिएको छ । बुटवलमा बन्दै गरेका दुई केबुलकारले बुटवलको नयाँ पहिचान सहित बजार चल्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बताए । होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बुटवल क्षेत्रका होटलहरु व्यापार वृद्धि हुने बताए । उनले केबलकारबाट भारत तथा नेपाल दुवै देशमा पर्यटकहरु आउने भएपछि यहाँको पर्यटन क्षेत्रसँग सिगो बजारमा नै चहलपहल हुन बताए ।

बुटवलमा दुईबाट केबलकार एकै पटक बन्ने भएपछि यहाँको व्यवासायीहरु उत्साहित भएका छन् । खास गरी पर्यटन क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ । भैरहवामा गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ठुला ठुला होटलमा लगानी गरेका यहाँका व्यवसायीले यी दुई केबलकारले यस क्षेत्रमा आर्थिक चलायमान हुने भन्दै हौसिएका छन् । निर्माणकर्ताले केबलकार संचालनमा आएपछि भारतीय पर्यटकको पनि आकर्षण बढ्ने विश्वास गरेका छन् ।