April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

लुम्बिनी महोत्सवमा आज अन्तर्राष्ट्रिय कुस्तीदेखि अस्मिता अधिकारीको प्रस्तुतीसम्म

भैरहवा– भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सवमा आज विविध सांस्कृतिक कार्यक्रम हुँदैछ । यस्तै, अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको फाइनल पनि आजै हुँदै छ । महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघका सदस्य एवं मेला प्रचारप्रसार समिति संयोजक कृष्णप्रसाद घिमिरेले आज कुस्ती हेर्न जिल्लाका गाउँगाउँबाट दर्शकहरु आउने बताए ।

Advertisement

‘हामीले सहरीदेखि भित्री गाउँसम्म प्रचारप्रसार गरेका छौं, आज हजारौं दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा छ’, उनले भने, ‘छिमेकी मुलुकबाट पनि पाहुनाहरु मेलामा कुस्ती हेर्न र मनोरंजन लिन आउनुहुनेछ ।’ आज महोत्सवमा भ्वाइस अफ भैरहवा, टिकटक प्रतिस्पर्धासमेत हुने छ । यस्तै, साँझ लाइभ ब्याण्ड प्रस्तुतीका साथै डिजे पनि हुने घिमिरेले जनाए ।

Advertisement

‘राष्ट्रिय ख्याती प्राप्त कलाकार अस्मिता अधिकारी, लोकदोहोरी गायक नारायण विपी परियार, लोकदोहोरी गायिका रितु थापा र स्थानीय भोजपुरी गायक हरिनारायण थारुको पनि प्रस्तुती रहनेछ’, उनले भने, ‘सबै किसिमको मनोरंजन प्रदान हुने भएकाले दर्शको घुइँचो हुने अपेक्षा हाम्रो छ ।’

२ सय ५० स्टल रहेको महोत्सवमा स्थानीय उत्पादनदेखि हिमाली र पहाडी जिल्लाका उत्पादनहरु पनि मेलास्थल पुग्नेले अवलोकन र खरिद गर्न सक्ने उनले बताए । ‘बाल उद्यानमा रमाउनेहरुका लागि पनि उत्तिै अवसर छ’, घिमिरेले भने, ‘एकै ठाउँमा धेरै कुरा पाइने भएकाले पनि महोत्सवले दर्शक तानिरहेको छ ।’

पुस ४ गतेसम्म चल्ने महोत्सवमा करिब ३ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । अहिलेसम्म पाँच दिनमा करिब ७५ हजार दर्शकले महोत्सव अवलोकन गरिसकेका छन् । यो संख्या दैनिक बढ्दो छ ।