March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

बुटवलमा खुल्ला दुध बेच्न रोक

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले खुल्ला रुपमा सडक किनारमा दुध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दुधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्य रुपमा दर्ता गर्न र खुल्ला रुपमा सडक किनारमा दुधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो ।

Advertisement

दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दुध र दुधजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेसिनसहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् ।

Advertisement

यस्तै बैठकले दुधजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दुध बिक्रेता, किसान लगायत दुधको कारोबारमा संलग्न डेरी व्यवसायीहरुले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ ।

रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष गणेशप्रसाद भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलमा डेरी व्यवसायीहरु कृष्ण भट्टराई, रामकृष्ण शर्मा पौडेल, उमादेवी शर्मा, संजोग श्रेष्ठ सदस्य रहनुभएको छ भने सदस्य सचिवमा बुटवल उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख छन् । बैठकले दुधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निर्णय गरेको उपप्रमुख अर्यालले बताइन् ।