November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

५२ किसानलाई प्रोत्साहन अनुदान दिइने

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ५२ जना किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२ जनाकै माग स्वीकृत गरेको हो ।

Advertisement

बुटवल उपमहानगरका वडा नं. ११ देखि १९ सम्मका किसानका लागि लक्षित गरी आह्वान गरिएको माग, योजना र प्रस्ताव हेरेर अनुगमनका आधारमा ५२ जना किसानलाई अनुदान दिने निर्णय गरेको नगर प्रमुख पाण्डेयले जनाए ।

Advertisement

ती वडामा खेतीकिसानी गर्ने किसान, फर्म र संस्थाहरुले पेश गरेको माग अनुसार १० हजारदेखि १ लाख २० हजारसम्मको अनुदान दिने निर्णय गरेको उनले जनाए । निर्णयअनुसार एक महिनाभित्रमा किसान, फर्म र संस्थालाई सम्झौताका लागि आह्वान गर्ने र कार्यक्रम सम्पन्न भएपछि वडाको सिफारिशका आधारमा अनुदान रकम उपलब्ध गराइने कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले बताए ।

५२ जना किसान, फर्म र संस्थाले तरकारी, केरा, फुल, लसुन, कुरिलो, बेसार, तोरी, मौरीपालन, कन्ये च्याउ, ड्रागन फलफुल, मकैलगायतका खेती गर्नका लागि योजना तथा प्रस्ताव पेश गरेका थिए ।