September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

पर्यटन दिवश उल्लासपूर्वक मनाइँदै

भैरहवा– यस पटकको विश्व पर्यटन दिवश भैरहवामा बिगतमा भन्दा भव्य र फरक ढंगबाट मनाइने भएको छ । विश्व पर्यटन दिवश समारोह समिति रुपन्देहीको सोमवार बसेको बैठकले आउँदो सेप्टेम्बर २७ का दिन उक्त दिवश भब्य र फरक ढंगबाट मनाउने निर्णय गरेको हो ।

Advertisement

स्थलमार्ग हुँदै भारत र तेस्रो मुलुकका सर्वाधिक पर्यटक नेपाल भित्रिने मूल नाका बेलहियामा पर्यटन दिवश समारोह मनाइने भएको छ । समारोह मनाउनका लागि भैरहवा भन्सार अगाडिको पार्किङस्थलमा अघिल्लो दिन नै आकर्षक मंच तयार पारिने छ ।

नाकाबाट नेपाल प्रवेश गर्ने सुरुका चारजना पर्यटकलाई फूलमाला, खादा, अविर, नेपाली टोपी लगाइदिएर स्वागतकासाथ समारोह स्थलमा ल्याइने छ । यसैगरी उक्त दिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने पहिलो २ जना पर्यटकलाई पनि स्वागतसाथ बेलहियास्थित समारोह स्थलमा लगिने छ ।

दिवशका अवसरमा पंचकन्याबाट पर्यटकको स्वागत गरिने छ । पंचेबाजा र विभिन्न नेपाली नृत्यसहितको सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिने छ । समारोहका संयोजक चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले यस पटकको पर्यटन दिवशमा बुद्धको जीवनीमा आधारित नाटक समेत प्रदर्शनी गरिने बताए । यसले पर्यटन क्षेत्रमा उल्लास ल्याउने आयोजकको विश्वास छ ।

श्रेष्ठका अनुसार, विश्व पर्यटन दिवश भन्दा अगाडि नेपाल र भारतका पत्रकारलाई सहभागी बनाई पत्रकार सम्मेलन गरि बिशेष गरि लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यका बारेमा जानकारी गराइने छ ।