September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

बोधी रेडसन होटलमा पर्व अफर

भैरहवा– रुपन्देहीको भैरहवामा रहेको चार तारे होटल बोधी रेडसनले विशेष छुटसहित चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । होटलको व्यवस्थापन गर्दै आएको साइनी होटल तथा रिसोर्ट प्रालिले पत्रकार सम्मेलन गरेर उक्त अफरबारे जानकारी गराएको हो । चाडबाडमा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्नेलाई लक्षित गरेर होटलले प्याकेज सार्वजनिक गरेको जनाएको छ ।

Advertisement

नेपालीहरुको चाड दशैं–तिहार, छठ जस्ता पर्वको अवसरमा होटलमा छुटसहितको प्याकेज बनाइएको साइनी होटल तथा रिसोर्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक ठाकुरले बताए । ‘चाडबाडको अवसरमा मुलुकभित्र घुमफिर गर्ने जोडीलाई लक्षित गरेर करिब १० हजार रुपैयाँमा डिलक्स कोठासहित विभिन्न खानपान र घुमफिरका योजना ल्याएका छौं’, उनले भने, ‘यसले यस क्षेत्रमा आन्तरिक पर्यटकको आगमन र बसाइँ अवधि बढाउन सकयोग पुग्ने हाम्रो अपेक्षा छ ।’

उनका अनुसार पर्व लक्षित योजना अन्तर्गत ९ हजार ९ सय ९९ रुपैयाँमा एकरातका लागि डिलक्स कोठा, साँझको खाना, बिहानको ब्रेकफाष्ट, विमानस्थलबाट होटलसम्म ल्याउने–पुर्याउने, रेडसन वाटरपार्कमा पौडी खेल्ने र रमाउने लगायत सुविधा उपलब्ध गराइने छ । यस्तै, यहाँ आएको अर्कोदिन लुम्बिनी भ्रमण सुविधा उपलब्ध गराइने छ ।

‘लुम्बिनी परिचित ठाउँ हो, यहाँ पुग्न धेरै लालायित छन्, होटलबाटै लुम्बिनी भ्रमणको सुविधा दिँदा पर्यटकलाई धेरै सहजता हुने हामीले विश्वास लिएका छौं’, ठाकुरले भने । उनका अनुसार प्याकेज अन्तर्गत जोडीसँगै आएका बच्चाको भने शुल्क लाग्ने छैन । ‘यो नेपाली पर्यटक लक्षित प्याकेज हो,’ ठाकुरले भने, ‘यस अवधिमा भारतीय पर्यटक आएमा पनि सुविधा प्राप्त गर्नेछन् ।’

यसअघि होटलले सार्वजनिक गरेका अफरको भरपुर उपयोग भएको उल्लेख गर्दै उनले चाडबाड भएकाले यसपटक पनि आन्तरिक पर्यटक आउने विश्वास व्यक्त गरे । ठाकुरका अनुसार अहिले होटलमा ५ वटा स्वीट रुम, १६ वटा भिल्ला र बाँकी डिलक्स गरी ९६ कोठा उपलब्ध छन् । होटलसँगै छुट्टै स्वीमिङ पुल रहेको छ । साथै वाटरपार्क समेत छ । यसबाहेक पर्यटकले स्पा, सौना लगायतका सुविधा लिन सक्ने उनले बताए ।

कोरोना महामारी पछि अहिले नेपालको पर्यटन बजार सुधार हुँदै गएको जनाउँदै ठाकुरले पर्यटन व्यवसायीले बजारलाई चलायमान बनाइराख्न विभिन्न सुविधा दिँदै आएको बताए । चाडपर्व नजिकिँदै गर्दा आन्तरिक पर्यटक ह्वात्तत्रै बढ्ने आफूहरुको अपेक्षा रहेको उनले सुनाए । ‘रेडसनले पारिवारिक वातावरणमा उत्कृष्ट सेवा दिँदै आएको छ’, उनले भने, ‘हामीलाई विश्वास छ, यहाँ आएर धेरैभन्दा धेरैले सेवा लिन सक्नुहुनेछ ।’