September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

भैरहवामा ‘लायन्स कर्पोरेट नाइट’ हुँदै

भैरहवा– रुपन्देहीको भैरहवामा पहिलोपटक ‘लायन्स कर्पोरेट नाइट’ हुने भएको छ । आफ्नो व्यवसायिक प्रतिष्ठानमा व्यस्त उद्योगी–व्यवसायीलाई मनोरंजन प्रदान गर्ने उद्देश्यले लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । आयोजकले भैरहवामा पत्रकार सम्मेलन गरी विशुद्ध कर्पोरेट हाउसहरुलाई केन्द्रित गरेर पहिलोपटक फरक ढंगबाट कार्यक्रम गर्न लागिएको जनाए ।

Advertisement

भदौ २४ गते शुक्रबार सिद्धार्थनगर नगरपालिका–१२, डाँडागाउस्थित युनिक बैंक्वेटमा उक्त कार्यक्रम आयोजना गरिएको छ । ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारले कार्यक्रममा सांगितक मनोरंजन प्रदान गर्ने आयोजकको भनाई छ । ‘कार्यक्रममा राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा ख्याती कमाइसक्नु भएका आधुनिक गायक हेमन्त शर्माका साथै स्थानीय महिलाहरुको सांगीतिक ब्याण्डको प्रस्तुती र नृत्य रहनेछ’, कार्यक्रम संयोजक अनिलकुमार गुप्ताले भने, ‘यसबाट कार्यक्रममा पाल्नुहुने व्यवसायीहरु तथा अन्यले भरपूर्ण मनोरंजन प्राप्त गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।’

बेलुका साढे ५ बजेदेखि राति १० बजेसम्म कार्यक्रम हुने आयोजकले जनाएका छन् । साथै कार्यक्रममा विभिन्न कर्पोरेट हाउसका प्रतिनिधिहरुको निश्चित सहभागिता हुनेछ । कार्यक्रममा सहभागिताका लागि १ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । उक्त रकममा रात्री खाना (डिनर), स्न्याक्स (खाजा) तथा सीमित पेय पदार्थ व्यवस्था गरिएको क्लबका संस्थापक अध्यक्ष गौतमकुमार गुप्ताले बताए ।

कार्यक्रममा करिब ४ सय जनाको सहभागीता हुने अपेक्षा आयोजकको छ । निश्चित टिकट र त्यसमा पनि विभिन्न कर्पोरेट हाउसका व्यक्तिहरु उपस्थित हुने भएकाले कार्यक्रम आकर्षक एवं भव्य हुने विश्वास गरिएको क्लबका अध्यक्ष गौतम गुप्ताले जनाए । कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकको भनाई छ ।

‘हामीले कम्तिमा ७०–८० हजार रुपैयाँ बचत गर्छौं की भन्ने अनुमान छ’, क्लबका अध्यक्ष गुप्ताले भने, ‘बचेको रकमबाट गरिब, दुखी, निमुखालगायतलाई सहयोग गर्नेछौं ।’ उनले क्लब स्थापनाको मुख्य उद्देश्य नै सामाजिक सेवा भएकाले त्यसतर्फ आफूहरु सचेत रहेको जनाए । ‘कर्पोरेट जगतमा रहेका सबैलाई उनीहरुको दैनिकी भन्दा फरक तरिकाले मनोरंजनात्मक साँझमा रमाउने वातावरण बनाउने कार्यक्रमको उद्देश्य हो तर यसबाट केही रकम बचाएर समाज सेवामा समर्पित गर्न हामीले खोजेका छौं’, उनले भने ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य प्रायोजकमा होटल बोधी रेडशन छ । यस्तै, सह–प्रायोजकमा टुबोर्ग बियर तथा प्रायोजकमा युएसपीएफसी र मौर्य होटल छ । पत्रकार सम्मेलन कार्यक्रमका संयोजक तथा क्लबका मिडिया कोर्डिनेटर शंकर पाण्डेले मनोरंजन प्रदानसँगै समाजसेवा गर्ने उद्देश्यले कर्पोरेट नाइट आयोजना गरिएको बताए । क्लबका सचिव सुरज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।