December 12, 2024, Thursday
२०८१ मंसिर २७

सफारीको ‘भर्जिन’ गन्तव्य

बर्दिया– वन र वन्यजन्तु सफारी पर्यटनका लागि बर्दिया निकुञ्जमा पर्यटकको आकर्षण बढेको छ । संघीय राजधानी काठमाडौंबाट भौगोलिक दूरी टाढा भएकाले टुर र ट्राभल कम्पनीको आँखामा नपरेको यस निकुञ्जमा अहिले आन्तरिक पर्यटकको चहलपहल छ ।

लुम्बिनी र आसपासका प्रदेशका सहरबाट यहाँ घुम्न आउने धेरै छन् । सहजै वन्यजन्तु र रमणीय प्राकृतिक सम्पदा अवलोकन गर्न सकिने भएकाले आकर्षण बढ्दै गएको निकुञ्ज अधिकारी र पर्यटन व्यवसायी बताउँछन् । पछिल्लो समय हवाई उडानको संख्या थप, सस्तो भाडादर र घुम्ने संस्कृतिको बिकासले यहाँ पाहुना बढिरहेका छन् ।

Advertisement

यहाँ निकुञ्जमा मानवीय चाप छैन । जसले गर्दा वन्यजन्तु अवलोकनका लागि दुःख हुँदैन । व्यवसायी यसलाई सफारीको ‘भर्जिन’ गन्तव्यका रुपमा प्रचार गरिरहेका छन् । यहाँ दूर्लभ पाटेबाघ अवलोकनका लागि मुलुक र बिदेशबाट धेरै पर्यटक आइरहेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीसँगै यो निकुञ्ज प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । अहिले प्रदेश र स्थानीय सरकारले आफ्ना कार्यक्रम यहाँको प्रमुख पर्यटकीय केन्द्र ठाकुरद्वारामा आयोजना गर्न थालेपछि होटल व्यवसायी उत्साहित छन् ।

सहजै बाघ हेर्न सक्ने भएकाले यहा पर्यटकको गन्तव्य बन्दै गएको हो । बाघ निकुञ्ज, खाता जैविक मार्ग र आसपासका मध्यवर्ती क्षेत्रमा जताततै सहजै हेर्न पाइने भएकाले केही वर्ष यता पर्यटकका लागि गन्तव्य बन्दै गएको पर्यटन व्यवसायी रामजीबाबु थापा बताउँछन् । उनले यहाँ आएका पर्यटकका लागि २० प्रतिशत छुटको व्यवस्था गरिएकाले पर्यटक आवागमन बढ्ने बताए ।

निकुञ्जमा चार वर्ष अघि गरिएको गणना अनुसार ८७ वटा बाघ छन् । अहिले यसको संख्या सय नाघ्ने अनुमान निकुञ्जको छ । बर्दिया निकुञ्जमा ३८ वटा गैडा रहेका छन् । पर्यटकको आवागमन बढ्दै गएपछि यहाँ ठुल्ठुला होटलमा व्यवसायीले लगानी गर्दै गएका छन् । बबई रिसोर्ट, विटीआर, टाइगर टप, जंगल सेन्टर प्लाजा, थारु होम रिसोर्ट, गैडा क्याम्प लगायत ठुला र साना गरि २९ वटा होटल सञ्चालनमा छन् । अझै थप ठुला होटल निर्माणको तयारीमा रहेका छन् ।

यसको प्रमुख कारण तराईको सबै भन्दा ठुलो निकुञ्ज हुनु, शान्त वातावरण, प्राकृतिक रुपमा जैविक विविधता र सहजै बाघ हेर्न सकिने भएकाले विगतको तुलनामा पर्यटकको आकर्षण बढ्दै गएको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । ‘पर्यटक आवागमन बढ्दै जानुले यहाँको पर्यटन व्यवसायीका लागि हव बन्दै गएको छ,’ उनले भने ‘बर्दिया निकुञ्ज सामाजिक, आर्थिक तथा वातावरणीय हिसावले उपयुक्त छ ।’

पर्यटकीय गतिविधि बढ्दै गएकाले पछिल्लो समय पर्यटन व्यवसायीमा आशा जागेको छ । प्रमुख संरक्षण अधिकृत श्रेष्ठले यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्जले बाघ संरक्षणमा महत्वपूर्ण योगदान पुराएको भन्दै अन्तर्राष्ट्रिय स्तरको ‘टी–एक्स २’ अवार्ड पाएको बताए । यसबाट बर्दिया निकुञ्ज विश्वभर चर्चामा रहेकाले स्वदेशी र विदेशी पर्यटकका लागि नेपालकै पर्यटन गन्तव्य हुने प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाई छ ।

घाँसे मैदान, बासस्थान सुधार, पर्याप्त आहारा, कृतिम पोखरी भएका कारण बाघको संख्या बढ्दै गएको छ । यहाँ काठमाडौंबाट आउन ५ सय किलोमिटर दुरी छ । बर्दिया निकुञ्ज आउने माध्यम सडक र हवाई मार्ग हो । सडक यातायातले निकुञ्जको मुख्यालय ठाकुरद्वारालाई छोएको छ । कोभिड–१९ पछि यहाँ आन्तरिक पर्यटक बढी आउने गरेका छन् ।

कोरोना संक्रमण कम हुँदै गएपछि बेलायत, फ्रान्स, अमेरिका लगायत मुलुकबाट पर्यटक आएको निकुञ्जको तथ्यांक छ । चिसापानीको आधुनिक पुल बर्दिया निकुञ्जको सीमानामा पर्छ । थारु संस्कृति र यहाँ सञ्चालित होमस्टे पनि पर्यटकलाई तान्ने काम भइरहेको छ । निकुञ्जका पर्यटन व्यवसायीबाट प्रचारप्रसार नहुँदा पर्यटकले यहाँका गतिविधि जानकारी पाउन सकेका छैनन् ।

पर्यावरण विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले पर्यटक भित्र्याउन करिब एक महिना अघि लुम्बिनी प्रदेशका ८ जिल्लामा प्रचारप्रसार गरिएको बताए । ६ जना पर्यटकका लागि एक रात बास, खाना र विहान नास्तासहित निकुञ्ज अवलोकन गर्दा ३ हजार ७ सय रुपैयाँ लिने गरेको उनले जनाए ।