March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

रूपन्देही बैंक तथा वित्तीय संस्थाको केन्द्र

भैरहवा– लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा तोकिएको छ । त्यहाँ प्रदेशसभा लगायतका केही संरचना निर्माण भइरहेका छन् । निर्देशनालय र मन्त्रालय अन्तर्गतका केही कार्यालय सञ्चालनमा आएका छन् । राजधानी दाङ भए पनि प्रदेशको आर्थिक र पूर्वाधार लगानीको केन्द्र रुपन्देही बनेको छ ।

Advertisement

तत्कालीन सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपछि व्यापारिक र बैंकिङ प्रतिष्ठानका कार्यालय रुपन्देहीमा खुल्नेक्रम ह्वात्तै बढेको थियो । अधिकांश व्यापारिक प्रतिष्ठानका कर्पोरेट अफिस अहिले रुपन्देहीमा खुलेका छन् । तिनले ठूलो लगानी गरेर कार्यालय सञ्चालनमा ल्याएको देखिन्छ ।

Advertisement

आर्थिक बिकास र लगानीको हब भएकाले पछिल्लो समय रुपन्देहीमा बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढेको छ । मुलुकका अधिकांश बैंक तथा वित्तीय संस्थाका प्रादेशिक कार्यालय रुपन्देहीमा खुलेका छन् । जिल्लामा ठूला भौतिक संरचना निर्माण भइरहेका छन् । फराकिला सडक बनेका छन् । बजार र उद्योगको बिकास यही छ ।

नयाँ–नयाँ औद्योगिक कोरिडोर स्थापना हुने क्रम छ । ती सबैको लगानीको स्रोत बैंक तथा वित्तीय संस्था हुन् । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा बैंक तथा वित्तीय संस्था पुगेका छन् । यहाँका १ सय ९ स्थानीय तहमध्ये सबैमा वाणिज्य बैंकका शाखा कार्यालय खुलेका छन् । कुनै उद्यम व्यवसाय गर्न चाहने व्यक्ति रकम अभावमा खुम्चनु परेको छैन । उनीहरु घरपायकको बैंकमा जाने र कर्जा लिने गरेका छन् ।

‘पहिले र अहिलेमा निकै फरक छ । काम गर्ने इच्छाशक्ति हुने हो भने बैंक तथा वित्तीय संस्था घरघरै कर्जा दिन आउने रहेछन्,’ अर्घाखाँचीको छत्रदेव–१ की लक्ष्मी पाण्डेले भनिन्, ‘बैंकले घरमै आएर कर्जा दिएपछि मैले पनि व्यवसायिक बाख्रापालन गरेकी छु ।’

प्रदेशमा औद्योगिक तथा व्यवसायिक क्षेत्रमा लगानी बढ्दै छ । पूर्वाधार विकासका योजना थपिँदै गएका छन् । यसले रुपन्देही लगायत जिल्लामा बैंक तथा वित्तीय संस्थाको आकर्षण बढाएको छ । गत वर्ष मात्र लुम्बिनी प्रदेशमा १ सय ८ वटा विभिन्न बैंकका शाखा थपिएका छन् । बढ्दो आर्थिक कारोबारले कर्जा र निक्षेपको सम्भावना बढ्दै गएपछि बैंकहरु थुप्रिएको राष्ट्र बैंक सिद्धार्थनगरका सहायक निर्देशक रमेश न्यौपानेले बताए ।

लुम्बिनी प्रदेशमा राष्ट्र बैंकले रुपन्देहीको सिद्धार्थनगर र बाँकेको नेपालगन्जमा प्रदेशस्तरीय कार्यालय राखेको छ । यसबाहेक प्रदेशमा वाणिज्य बैंक, विकास बैंक, लघुवित्त र फाइनान्स कम्पनीका २ हजार १ सय ७३ वटा शाखा कार्यालय छन् । विकास बैंकका २ वटा र लघुवित्त ११ वटाका केन्द्रीय कार्यालय छन् । प्रदेशको जनसंख्या अनुसार एक बैंक शाखाको भागमा ५ हजार ५८ जना व्यक्ति पर्दछन् ।

प्रदेशमा सबैभन्दा धेरै बैंकका शाखा कार्यालय रुपन्देहीमा छन् । आर्थिक कारोबार बढ्दै जादा बैंक तथा वित्तीय सस्था बढ्ने क्रम छ । लुम्बिनीमा रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम, दाङ र बाँकेमा ठूल्ठूला उद्योग छन् । तराईका ६ वटै जिल्लामा भन्सार कार्यालय छन् । मधेश आन्दोलनपछि रुपन्देहीको बेलहिया नाका र भैरहवा भन्सार बढी सामान आयात हुने भन्सारका रुममा बिस्तार भएको छ ।

कपिलवस्तुको कृष्णनगर र बाँकेको जमुनाहा नाकाबाट पनि आयात बढेको बढ्यै छ । यसले बैंकहरुको संख्या मात्रै होइन प्रदेशमा निक्षेप संकलन र कर्जा प्रवाह पनि बढेको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्था बाहेकका बैंकहरुको निक्षेप र कर्जा संकलनको अध्ययन र विश्लेषण गर्ने गरेको छ । रुपन्देहीमा ३ सय १४ विभिन्न बैंकका शाखा कार्यालय छन् । त्यसमध्ये एक विकास बैंक र ७ लघुवित्तका केन्द्रीय कार्यालय नै छन् ।

बैंक तथा वित्तीय संस्था धेरै हुनेमा रुपन्देही काठमाडौंपछिको दोस्रो जिल्ला हो । काठमाडौंमा बैंकमा एक हजार २८ वटा कार्यालय छन् । तर पर्यटकीय जिल्ला पोखरामा जम्मा २ सय ८८, मोरङमा २ सय ३७ र चितवनमा बैंक तथा वित्तीय संस्थाका कार्यालय २ सय ३१ वटा मात्रै छन् ।