December 10, 2024, Tuesday
२०८१ मंसिर २५

ड्रोनबाट मोतीपुर औद्योगिक क्षेत्रको जग्गा नाप–नक्शांकन गरिने

भैरहवा– रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको समस्या पहिचान र जग्गाको क्षेत्रफल यकिनका लागि दुई दिन अघि गठित कार्यदलले काम सुरु गरेको छ । विवादका कारण उद्घाटन भइसकेको औद्योगिक क्षेत्रको काम अघि बढ्न नसकेपछि गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले समस्या पहिचान र क्षेत्रफल यकिनका लागि काम सुरु गरेको हो ।

जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाको कार्यालयमा बसेको बैठकले औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचान गर्नका लागि ड्रोनबाट नापजाँच गर्ने निर्णय गरेको छ ।

Advertisement

औद्योगिक क्षेत्रको डीपीआर तयार भए पनि सो क्षेत्रमा कुन ठाउँदेखि कुन ठाउँसम्म कति जग्गा औद्योगिक क्षेत्रको नाममा रहेको हो भन्ने यकिन नभएकाले ड्रोनबाट नापजाँच गर्ने र त्यसैअनुसार प्रतिवेदन तयार गर्ने निर्णय गरेको कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

बैठकले प्रभावित क्षेत्रका वडा अध्यक्षहरुले आ–आफ्ना वडाभित्रका सो औद्योगिक क्षेत्रको जग्गाभित्र बसोबास गरेका व्यक्तिहरुको हकभोग गरेको जग्गाको विवरण सहितको नामावली ५ दिनभित्र कार्यदललाई उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले औद्योगिक क्षेत्रको ड्रोन प्रविधिबाट तत्काल नाप नक्शांकन प्रक्रिया अघि बढाउन मोतीपुर औद्योगिक क्षेत्रका कार्यालय प्रमुखलाई जिम्मेवारी दिने निर्णय गरेको सदस्य सचिव पन्थीले बताए ।

औद्योगिक क्षेत्रको शिलन्याश भए पनि स्थानीयको समस्या समाधान नगरी काम अघि बढ्न नसकेपछि बुटवल उपमहानगरपालिकाको संयोजनमा गृहमन्त्री बालकृष्ण खाँणको आतिथ्यता र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा सरोकारवालासहित गत शुक्रबार बेलुका बसेको बैठकले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको थियो ।

औद्योगिक क्षेत्रका ८१३ बिगाहा जग्गालाई दुईपटक नापजाँच गरी आवश्यक रकम निकाशाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई सिफारिश गर्ने निर्णय पनि कार्यदल बैठकले गरेको छ । कार्यदलमा औद्योगिक क्षेत्रका कार्यालय प्रमुख, सम्बन्धित वडाका अध्यक्ष, बुटवलस्थित मालपोत कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि, प्रदेश उद्योग मन्त्रालयका अधिकृत प्रतिनिधि, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सदस्य र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव छन् ।

कार्यदललाई औद्योगिक क्षेत्रको के कति जग्गाको क्षेत्रफल घटाउन सकिन्छ ? भनी ७ दिनभित्र यथार्थ प्रतिवेदन दिने गरी अधिकार दिइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । कार्यदलले ७ दिनभित्र प्रतिवेदन पेश गरेपछि उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएको ३ दिन भित्र कार्यपालिकाबाट निर्णय गरी सिफारिश गर्ने निर्णय गरेको प्रमुख पाण्डेयले जनाए ।