December 10, 2024, Tuesday
२०८१ मंसिर २५

क्षेत्रफल घटाएरै भए पनि ‘स्मार्ट’ औद्योगिक क्षेत्र

बुटवल– गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ मा प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्र निर्माणको कामले तीब्रता पाउने बताएका छन् । मोतिपुरमा औद्योगिक क्षेत्रका लागि अहिले प्रस्ताव गरिएको जग्गाको क्षेत्रफल घटाएर भए पनि स्मार्ट औद्योगिक क्षेत्र निर्माण गरिने दाबी उनको छ ।

बुटवलमा आयोजित एक कार्यक्रममा औद्योगिक क्षेत्रको जग्गामा बसोबास रहेका पुराना बासिन्दालाई असर नपर्ने गरी कम क्षेत्रफल कायम गरेर भए पनि आधुनिक औद्योगिक क्षेत्र निर्माण गरिने बताए । उक्त क्षेत्रमा लामो समयदेखि बसोबास रहेका सर्वसाधरणले जग्गा खाली गर्न नमानेपछि औद्योगिक क्षेत्र निर्माण ६ वर्षदेखि अलपत्र छ ।

Advertisement

लामो समय अड्चन आएपछि प्रस्तावित जग्गाको क्षेत्रफल घटाउन सकिने–नसकिनेबारे अध्ययन गर्न गत शुक्रबार साँझ गृहमन्त्रीको उपस्थितिमा कार्यदल गठन गरिएको थियो । जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागार्इंको संयोजकत्वमा कार्यदल बनेको छ ।

पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ गते औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो । अहिले गठन गरिएको कार्यदलमा औद्योगिक क्षेत्र कार्यालय प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष, बुटवलस्थित मालपोत कार्यालय प्रमुख, वन कार्यालय प्रमुख, जिल्ला प्रशासनका अधिकृत प्रतिनिधि, प्रदेश उद्योग मन्त्रालयका अधिकृत प्रतिनिधि, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सदस्य रहेका छन् ।

कार्यदलको सदस्य–सचिवमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई तोकिएको छ । कार्यदलको कार्यालय बुटवल उपमहानगरपालिकामा रहनेछ । औद्योगिक क्षेत्रको नाममा अहिले ८ सय १३ बिघा जग्गा रहेको छ । औद्योगिक क्षेत्र निर्माणमा १२ अर्ब रुपैयाँ लगानी हुनेछ । उक्त क्षेत्रमा उद्योगका लागि २ सय ६२ वटा प्लट, विद्युत्, पानी, ढल निकास, सडक, स्वास्थ्य क्लिनिकलगायत पूर्वाधार बन्ने गुरुयोजनामा उल्लेख छ ।

पाँच वर्षसम्म उद्योगीले भाडासमेत तिर्नुपर्ने छैन । यो औद्योगिक क्षेत्रमा दुई वर्षभित्रै न्यूनतम पूर्वाधार निर्माण गरी उद्योग खोल्न दिने योजना छ । ठूला उद्योगका लागि १ सय १९ वटा, मझौला उद्योगका लागि ५१ वटा र साना उद्योगका ९२ वटा प्लट निर्माण हुनेछन् । औद्योगिक क्षेत्रमा १ सय ३३ केभी लाइनको विद्युत् सबस्टेसन हुनेछ । खानेपानीका लागि डिपबोरिङ रहनेछ ।