ठेकेदारविरुद्ध प्रशासनमा उजुरी
रोल्पा– जिल्लास्थित सिमलबाङ–दारबोट सडकका ठेकेदारविरुद्ध प्रशासनमा उजुरी परेको छ । ज्याला, खाद्यान्न, गाडी खर्च रकम भुक्तानी नपाएको जनाउँदैं होटेल, किराना पसल संचालक र कामदारले ठेकेदार खगेन्द्र बुढामगरविरुद्ध उजुरी गरेका हुन् ।
उजुरीपछि सम्बन्धित ठेकेदारसँग सम्पर्क गरी छलफलका माध्यमबाट उजुरीको सुनुवाई प्रक्रिया थालिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अहिलेसम्म दुई दर्जन भन्दा बढी व्यक्तिले लिखित उजुरी दिएको बताए ।
उनका अनुसार उजुरी परेपछि राजधानीमा बस्दै आएका ठेकेदारसँग सम्पर्क गरी छलफलमा बोलाइएको छ । ठेकेदार बुढामगरले स्थानीय प्रशासनसमक्ष उक्त सडकको निर्माणको जिम्मा स्थानीय रितमान पुनसहित दुई जना युवालाई दिइएकाले यसबारे आफूसँग जानकारी नभएको दावी गरेका छन् ।
प्रशासनले खगेन्द्र नै मूल ठेकेदार भएकाले सडक निर्माणमा ढिलाई गर्नुको कारण र उनीविरुद्ध परेको उजुरीबारेमा छलफलमा उपस्थित हुन ताकेता गरेको हो । स्थानीय प्रशासनका अनुसार उजुरीमा उल्लेखित रकम अझै थप हुन सक्ने अवस्था छ ।
आर्थिक वर्ष २०७३–७४ मा सरकार र आशीष श्री जयन्ती निर्माण कम्पनी बीच तीन वर्षभित्र कालोपत्र (डीभीएसटी) गरिसक्ने गरी सम्झौता भएको थियो । तर ठेकेदार कम्पनीले सम्झौता समय गुजारेर पेटीका ठेकेदारलाई सडक चौडा गर्न, नाला बनाउन र मर्मत गर्न जिम्मा दिएको थियो ।
प्रतिकृया दिनुहोस्