September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

प्रतिष्ठान रुपन्देहीद्वारा अपाङ्ग आश्रममा सहयोग

बुटवल– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीले बुटवल–१३ स्थित नेपाल अपांग आश्रममा सहयोग गरेको छ । साथै आश्रममा आश्रितहरुलाई तीजको दर खुवाएको छ ।

Advertisement

प्रतिष्ठान रुपन्देहीका संरक्षक तथा केन्द्रिय पूर्व सल्लाहकार एवं बुटवल उद्योग वाणिजय संघका निवर्तमान अध्यक्ष खेम हमालले प्रतिष्ठान, रुपन्देहीले हरेक वर्ष यस्तै रचनात्मक तथा सामाजिक उत्तरदायित्व अनतर्गतका कार्यहरु गर्दै आएको बताए । यसलाई निरन्तरता दिन उनले आग्रह गरे । कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य दीपक गरौजा र रुपन्देही जिल्ला उपाध्यक्ष रितु थापाले गीत मार्फत उपस्थित सबैलाई मनोरन्जन प्रदान गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष दीपक कार्कीले कलाकारहरु कलाकर्ममा मात्रै नभएर सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक सेवामा पनि अग्रसर हुनुपर्छ भन्ने उद्देश्यका साथ यस किसिमको कार्यक्रम गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने बताए ।

प्रतिष्ठान आश्रमका लागि नगद रु. सात हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ । आश्रमका अध्यक्ष डोलराम बिश्वकर्मालाई प्रतिष्ठानका अध्यक्ष कार्की र कोषाध्यक्ष सन्जय सौगातले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानकी केन्द्रीय सदस्य सीता राना, लुम्बिनी प्रदेशका सल्लाहकार टंक गैरे, रुपन्देहीका सल्लाहकार समुन्द्र जि.सी, नारायण रायमाझी, प्रतिष्ठान लुम्बिनी प्रदेशका बरिष्ठउ पाध्यक्ष नारायण थापा, सहसचिव दामोदर बस्याल, आजीवन सदस्य जे.वी. क्षेत्री लगायतको उपस्थिति थियो ।