December 5, 2024, Thursday
२०८१ मंसिर २०

यस्ता छन् अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका विशेषता

भैरहवा– रुपन्देहीको बुटवलमा शनिबार (आज) प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दैछन् । उद्घाटनका लागि प्रधानमन्त्री शनिवार बिहान १० बजे बुटवल आउने कार्यक्रम छ । प्रधानमन्त्री आउने भएपछि आवश्यक तयारीका लागि गृहमन्त्री बालकृष्ण खाँण शुक्रबारदेखि जिल्लामै छन् । यसअघि बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार जना अट्ने क्षमताको सम्मेलन तथा ध्यान केन्द्र सञ्चालनमा आइसकेको छ ।

व्यावसायिक केन्द्र बुटवलमा निर्माण भएको सम्मेलन केन्द्रका आधुनिक र मौलिक बिशेषता छन् । चन्द्रसूर्य झण्डा आकारको सम्मेलन केन्द्र १ अर्ब ११ करोड रुपैयाँ लगानीमा निर्माण पूरा भएको हो । यसमा करिब तीन हजार जना अट्ने क्षमताका विभिन्न हल छन् । लामो समयदेखि सभा सम्मेलन आयोजना हुँदै आएको बुटवल मण्डपस्थित ९ बिगाह ६ कठ्ठा जमिनमा यसको निर्माण भएको छ ।

Advertisement

सम्मेलन केन्द्रमा रहेका हललाई विभिन्न नामकरण गरिएको छ । बुटवल उपमहानगरपालिकाका अनुसार १ हजार जना अट्ने मुख्य हलको नाम गौतमबुद्ध राखिएको छ । सम्मेलन केन्द्रमा थप १२ वटा हल छन् । लुम्बिनी प्रदेशका ऐतिहासिक र पर्यटकीय क्षेत्रको नाम ती हललाई प्रदान गरिएको छ ।

हलमा आधुनिक साउण्ड सिष्टम जडान गरिएको छ । निगरानीका लागि सीसीटीभी क्यामेरा जडान गरिएको प्रदर्शनी केन्द्र निर्माण इकाईका प्रमुख धर्मेन्द्र पन्थीले बताए । उनका अनुसार हलमा अन्तर्राष्ट्रिय स्तरको सजावट गरिएको छ ।

सम्मेलन केन्द्रका दुइवटा चन्द्रसूर्य आकारका छन् । चन्द्र आकारमुनि २ वटा ठूला हल रहेको पन्थीले बताए । उनका अनुसार सूर्य आकारको भवनमा ११ वटा हल छन् । सम्मेलन केन्द्रमा चारवटा प्रवेशद्वार छन् । केन्द्र बाहिर पानीका फोहोरासहितका पोखरी रहेको पन्थीले बताए । ती सबैमा चन्द्रसूर्य आकारका फोहोरा निस्कन्छन् । रातिमा राष्ट्रिय झण्डासहितको धुन बज्छन् ।

त्यही आकारका लाइटिङ गरिएको छ । अन्तर्राष्ट्रिय स्तरबाट आएका पाहुनालाई नेपालीपन र राष्ट्रियता देखाउन यसो गरिएको हो । साना–साना सुन्दर बगैँचा छन् । तिनलाई हरियाली बनाइँदै छ । ५ वर्षमा निर्माण सक्ने गरी २०७१ माघ १५ मा बुटवल सम्मेलन केन्द्र निर्माणको काम सुरु भएको थियो । ५ वर्षमा सक्ने भनिए पनि सम्मेलन केन्द्रको १ अर्ब ३ करोड रुपैयाँमा दुई चरणमा बाँडेर ठेक्का सम्झौता गरिएको थियो ।