March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

पहिलोपटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली उत्पादन विदेश निकासी हुँदै

भैरहवा– भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन निर्यात सुरु हुने भएको छ । काठमाडौंको हिमालेक्स टे«डर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत् पहिलोपटक गौतमबुद्ध विमानस्थल प्रयोग गरेर विदेश निकासी सुरु गर्न लागेको हो । व्यवसायिक उडान सुरु भएको तीन महिनासम्म यहाँबाट आयात–निर्यात भएको थिएन । हिमालेक्सले हस्तकलाजन्य उनका सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाउन लगोको कम्पनीका संचालक प्रदीप सापकोटाले जानकारी दिए ।

Advertisement

यहाँबाट पहिलो चरणमा दुई टन सामान निकासी हुन लागेको विमानस्थलले जनाएको छ । ‘उक्त सामानको आज सबै किसिमका चेकजाँच हुनेछन्, राजस्व दाखिला हुनेछ,’, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख टीकाराम गैरेले भने, ‘यी सबै प्रक्रिया सकेर भोलि बिहान (शनिबार) जजिरा एयरमार्फत् कुवेत हुँदै फ्रान्सको लियोन विमानस्थल सामान पुग्ने छ ।’

Advertisement

आयात–निर्यातका लागि पर्याप्त पूर्वाधार हुँदा समेत संचालनमा आएको लामो समयसम्म पनि गौतमबुद्ध विमानस्थलबाट सामान निकासी–पैठारी गर्ने व्यवसायी नै आएका थिएनन् । धेरैले काठमाडौंस्थित त्रिभुवन विमानस्थल नै प्रयोग गर्ने गरेका थिए । ‘यस्तो अवस्थामा हामीले विमानस्थलको प्रबद्र्धन गर्न, यहाँबाट निकासी पैठारी गर्न सहज र सस्तो छ भन्ने सन्देश दिन पनि काठमाडौंबाट सामान ल्याएर विदेश निकासी सुरु गरेका हौं’, सापकोटाले भने, ‘यसले भैरहवा र आसपासका व्यवसायीलाई हवाई उडानमार्फत् गौतमबुद्ध हुँदै सामान आयात–निर्यात गर्न दवाव समेत पुग्ने छ ।’

गौतमबुद्धबाट अहिले कुवेतको जजिरा एयरले सातामा तीन दिन उडान गर्दै आएको छ । यहाँबाट कार्गो संचालनका लागि उसले निजी क्षेत्रसँग छलफल गरिरहेको छ । विमानस्थलमा छुट सुविधा पाएका कारण पनि काठमाडौंभन्दा भैरहवाबाट भाडादर सस्तो तोकिएको जजिराका विक्री तथा बजार प्रबन्धक राजेन्द्र बानियाँले बताए । ‘कुवेत ट्रान्जिट भए पनि जजिराको मार्केट युरोपेली मुलुकमा बढी छ’, उनले भने, ‘त्यसैले नेपाली उत्पादन निकासी गर्न सबै उद्योगी–व्यवसायीलाई हामीले आह्वान गरिरहेका छौं ।’ उनले व्यवसायीलाई प्रोत्साहन गर्ने र कार्गो पठाउन आग्रह गर्ने काम निरन्तर गरिरहेको जनाए ।

राइजिङ स्टार कार्गो प्रालिका व्यवस्थापक जीवन पन्तले गौतमबुद्ध विमानस्थलको प्रबद्र्धन अहिलेको आवश्यकता भएको बताए । यसै कारण पनि ‘रिक्स’ मोलेर आफूहरुले काठमाडौंबाट ट्रकमा सामान लोड गरेर भैरहवा ल्याएर निकासी गर्न लागेको जनाए । ‘हामीलाई काठमाडौंबाट नै सामान निर्यात गर्न सहज थियो’, उनले भने, ‘हामी यस क्षेत्रका व्यवसायीलाई प्रोत्साहित गर्न चाहान्छौं, आवश्यक परे हाम्रो कम्पनीको शाखा यही खोल्छौं । तर, यस क्षेत्रका समग्र उत्पादन निर्यात होस् र विदेशी मुद्रा आर्जन गरौं भन्ने चाहना हो ।’ उनले सधैभरि काठमाडौंबाट सामान ल्याएर निर्यात सम्भव नभएकाले यहाँका व्यवसायीले नै गौतमबुद्ध विमानस्थललाई बढी भन्दा बढी उपयोग गर्नुपर्नेम जोड दिए ।

उनले यस क्षेत्रका हरेक वस्तु निकासीजन्य र योग्य भएको बताए । ‘यहाँ हरेक कुराको सम्भावना छ, मात्रै त्यसलाई उपभोग गर्न सक्नुपर्छ । धेरैभन्दा धेरै सामान कार्गोमार्फत् विदेश निकासी गरौं’, उनले भने । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले पनि यस क्षेत्रका व्यवसायीलाई आर्यात–निर्यात गर्दा गौतमबुद्धलाई प्रयोग गर्न आग्रह गरे । उनले निकासीमा ध्यान दिए अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले राम्रो पकड जमाउन सक्ने जनाए ।

‘हामी काठमाडौं नधाऔं, सबै हिसाले यहाँ पूर्वाधार तयार छन्’, उनले भने, आज टिपेको तरकारी भोलि अन्तर्राष्ट्रिय बजारमा पठाउन सकिन्छ । बरु, धेरै उत्पादन गरौं र निकासी गरौं ।’ उनले कृषिजन्य, गार्मेन्टजन्य लगायत समान निकासका लागि प्रयत्न गर्न उद्योगी–व्यवसायी र कृषकहरुलाई आग्रह गरे । उनका अनुसार तत्काल विमानस्थलबाट कृषिजन्य समान निकासीका लागि क्वारेन्टाइन व्यवस्था छैन । बाँकी सबै किसिमका सामान निकासीका लागि पूर्वाधार तयार भएको छ । ‘कुनै व्यवसायीले कृषिजन्य सामान निकासी गर्छु भन्नुभयो भने त्यसको हप्ता दिनमै हामीले क्वारेन्टाइन कार्यालय खोल्छौं’, उनले भने ।

गौतमबुद्धमा नयाँ कार्गो भवन निर्माण अन्तिम चरणमा पुगेको छ । तत्कालका लागि अस्थायी रुपमा दैनिक चार–पाँच सय टन सामाग्री आयात–निर्यात गर्न सकिने संरचना बनाइएको छ । तर, नजिकको विमानस्थल छाडेर अहिले पनि यस क्षेत्रका व्यवसायीले आफ्नो उत्पादन विदेश निर्यात गर्दा काठमाडौंको भित्रुभवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरिरहेका छन् । नयाँ विमानस्थलको प्रबद्र्धनका लागि पनि उद्योगी–व्यवसायीले गौतमबुद्धलाई प्रयोग गर्नुपर्नेमा सरोकारवालाले जोड दिँदै आएका छन् ।

विमानस्थलका अधिकारीहरुले केही कानूनी जटिलता हटाउने हो भने विदेश सामान निकासीका लागि नजिकका भारतीय बजारका उत्पादन पनि गौतमबुद्ध हुँदै बाह्य मुलुक पठाउन सकिने बताउँछन् । ‘विमानस्थललाई चलायमान बनाउन पनि भारतका व्यवसायीलाई आग्रह गरेर, उनीहरुलाई सामान ल्याउन भनेर सामान विदेश पठाउन सकिन्छ’, दाहालले भने, ‘सीमा क्षेत्रका भारतीयहरुले विदेश सामान निकासी गर्दा पटना जानु पर्ने बाध्यता छ तर त्यहाँभन्दा उनीहरुलाई गौतमबुद्ध विमानस्थल नजिक पर्छ ।’ कार्गो आयात–निर्यात गर्न छिटपुटबाहेक विमानस्थलमा अहिले सबै पूर्वाधार तयार पारिएको छ ।