मिटरब्याजीविरुद्ध बाँकेमा १५ उजुरी
बाँके– सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि बाँकेमा १५ जनाले उजुरी दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरका अनुसार उजुरी आह्वान भएयता उक्त संख्या पीडितले उजुरी दिएका हुन्।
अधिकृत सोनकरका अनुसार मिटरब्याजीविरुद्ध उजुरी आउने क्रम जारी छ । उजुरीबारे गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले जानकारी दिए । कतिपय मिटरब्याजीविरुद्ध अदालतमा समेत मुद्दा चलेको छ ।
‘उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौँ,’ उनले भने, ‘आवश्यक कारबाही प्रक्रिया अघि बढेको छ ।’ प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन् ।
मिटरब्याजीले थोरै पैसा लगानी गरेर १० लाखदेखि २० लाखसम्मको कागज गरेको उजुरीमा उल्लेख भएको उनले जानकारी दिए । मिटरब्याजीले निरक्षर तथा आर्थिकरूपले कमजोर रहेकामाथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो ।
प्रतिकृया दिनुहोस्