बुटवलले माघभित्रै सम्झौता गरी जेठभित्र योजना सम्पन्न गर्ने
बुटवल– बुटवल उपमहानगरपालिकाको कार्यपालिकाको बैठक विभिन्न निर्णय गरेको छ । आइतबार नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गरेको हो । जसअनुसार मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघ भित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने तालिका स्वीकृत भएको नगर प्रवक्ता शिव रानाले जानकारी दिए ।
स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरुको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्नेछ ।
क्रमागत योजनाहरु मंसिरसम्म सम्पन्न गर्ने र जेठभित्र योजनाहरुको सुपरिवेक्षण, अनुगमन र फरफारक गरिसक्नुपर्ने गरी तालिका स्वीकृत गरिएको प्रवक्ता रानाले बताए ।
नगरक्षेत्रभित्रका अव्यवस्थित बसोबासीको जग्गा ब्लक छुट्याउने काम सम्पन्न भएका जग्गाको नाप नक्शांकन प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ । बैठकले नगरको खर्चमा मितव्ययिता अपनाउनका लागि कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको छ ।
बैठकले बुटवल १५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजारसम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ । यस्तै, बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्यसञ्चालन निर्देशिका २०७८ संसोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोकसेवा आयोगसँग परामर्श गरी अघि बढाउने निर्णय गरेको प्रवक्ता रानाले जनाए ।
प्रतिकृया दिनुहोस्