चौराहा–गोलपार्क सडक निर्माणको म्याद नथप्न नगर प्रमुख पाण्डेयको आग्रह
बुटवल– बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको राजमार्ग चौराहा–गोलपार्क सडक खण्ड निर्माणबारे सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठसँग छलफल गरेका छन् । ठेकेदारले सडक निर्माणमा ढिलाइ गरी अलपत्र पार्दा विभागले खासै चासो नदिएको र कारबाही पनि नगरेको भन्दै प्रमुख पाण्डेयले असन्तुष्टि व्यक्त गरे ।
नगरप्रमुख पाण्डेयले बुटवल क्षेत्रको सडक निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीको म्याद थप नगर्न आग्रह गरे । बुटवलबासीको आक्रोश बढ्दै गएको भन्दै उनले बुटवलको सडक निर्माणमा आयोजना र सडक विभागबाट समेत गम्भीर चासोका साथ काम अघि बढाउन आग्रह गरे ।
उनले सडक निर्माणमा निर्माण व्यवसायीबाट काम हुँदा–नहुँदा ताकेता र चासो व्यक्त गर्ने र कामलाई तीब्रता दिलाउने, अनुगमन गर्ने काममा थप चासो दिन आग्रह गरे । नगरप्रमुख पाण्डेयले निर्माण कम्पनीलाई छिटो भन्दा छिटो काम सक्नका लागि ताकेता गर्न आग्रह गरेका छन् ।
उपमहानिर्देशक श्रेष्ठले विभागले निर्माण कम्पनीले अब तोकिएको समयसीमाभित्र काम नसके कानुनी प्रक्रिया अघि बढाउने बताए । उनले निर्माण कम्पनीलाई समयसीमाभित्र काम पूरा नगरेकोमा कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिसकिएको जनाए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुखु प्रशासकीय अधिकृत टेकराज पन्थीले सडक निर्माणमा भएको लापरबाहीका कारण दुर्घटना बढेको र बुटवलबासीले सास्ती खेप्नुपरेको बताए । उनले सडक निर्माणमा बुटवल उपमहानगरपालिकाले जुनसुकै समन्वय र सहकार्य गर्न तयार रहेको जनाए ।
कार्यक्रममा निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभीका सञ्चालक सुवित श्रेष्ठले भदौंभित्र सडकको मुख्य समस्या समाधान गर्ने गरी काम अघि बढाएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, सल्लाहकार दिनेश पाण्डे, पत्रकारहरु दामोदर खनाल, यमलाल भुसाल, शरण कर्माचार्य, भगवती पाण्डेलगायतले बोल्दै सडक निर्माणमा आयोजना र सडक विभागबाट समेत गम्भीरतापूर्वक चासो नदेखाएको बताएका थिए ।
प्रतिकृया दिनुहोस्