December 5, 2024, Thursday
२०८१ मंसिर २०

‘सरकारी नीति पर्यटनमैत्री भएन’

भैरहवा– व्यवसायीहरुले सरकारी नीति पर्यटनमैत्री हुन नसकेको आरोप लगाएका छन् । व्यवसायीले सरकारी नीति राम्रो नभएकाले सरकारसँग धेरै कुराहरुमा आशा भए पनि विश्वास भने हुन नसकेको बताए । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशको १४ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा बोल्ने व्यवसायीहरुले यस्तो बताएका हुन् ।

मुलुकको समृद्धिको आधार निर्विकल्पका रुपमा पर्यटन क्षेत्र भए पनि सरकारी नीतिले समस्या निम्तिएको व्यवसायीको गुनासो छ । नाट्टाका केन्द्रिय अध्यक्ष रमेश थापाले निजी क्षेत्रले पर्यटन व्यवसायमा अर्बौं लगानी गरेको तर सरकारी तहबाट त्यसको संरक्षण, नीति, नियम र भइपरी आउने समस्याहरुमा सहयोग नमिलेको दुखेसो गरे ।

Advertisement

‘पछिल्लो समय प्रदेश सरकारहरुले ल्याएको पर्यटन ऐन, नियम राम्रो छैन’, उनले भने, ‘लुम्बिनी सरकारले व्यवसायीसँग सल्लाह गरेर त्यसअनुसारको नीति ल्याओस् ।’ उनकाअनुसार गण्डकी र गाग्मती प्रदेश सरकारले पर्यटनमैत्री ल्याउन सकेका छैन । ‘व्यवसायमैत्री नीति प्रदेश र संघ सरकारले नल्याएकै कारण आज फेरि व्यवसायी सरकारको ढोका ढकढकाउन बाध्य भएका छन्’, उनले भने, ‘सरकारी नीति राम्रो भएको भए आज हामी पर्यटक भित्र्याउने काममा लाग्थ्यौं तर विडम्बना सरकारी नीति सच्याउ भनेर लाग्नु परेको छ ।’

नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष एवं पर्यटन व्यवसायी कृष्णप्रसाद अधिकारीले पर्यटनमा निजी क्षेत्रबाट अर्बौं लगानी भए पनि पर्यटनमैत्री नीति नहुँदा सधै समस्या झेल्नु परेको दुखेसो गरे । ‘पर्यटन क्षेत्रमा काम गर्नका लागि सरकारले एउटा राम्रो सफ्टवेयर समेत बनाउन नसक्नु दुखद् हो’, उनले भने, ‘सरकारी सहयोग भए पर्यटनमैत्री राम्रो वातावरण बनाउने काम निजी क्षेत्रले गर्ने थियो ।’

व्यवसायीले राज्यले थोरै केही गरिदिए निजी क्षेत्रले यसो गर्ने थियौं भन्ने कुराहरु अनगिन्ती भएको तर राज्यले नगर्दा पछि परिरहेको जनाए । यही कारण पर्यटन प्रवद्र्धन गर्ने अवसर हुँदाहुँदै पनि धेरै कुराबाट पछि परिरहेको व्यवसायीको गुनासो छ ।

नाट्टाका पूर्व केन्द्रिय अध्यक्ष अच्युत गुरगाईं, पूर्व प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्मा, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने लगायतले बोल्दै पर्यटक प्रकृति, मान्छेले बनाएको कलात्कमक वस्तु र विभिन्न ठूला कार्यक्रम हेर्न र घुम्न आउने भएकाले त्यस किसिमको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

व्यवसायीले लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ जस्ता ठूला धार्मिक तथा पर्यटकीय स्थलमा विदेशीहरुलाई बोलाएर ठूलाठूला कार्यक्रम गर्नुपर्ने बताए । कोरोनापछि चीनको जिरो कोभिड नीतिले दक्षिण एशियामै पर्यटन बजारमा असर परिरहेको व्यवसायीले बताए । यस्तै, व्यवसायीले नेपालमा भन्दा भारतमा सवारीसाधनमा मूल्यको अन्तरले गर्दा पनि पर्यटन व्यवसायलाई समस्या परेको जनाए । यस्तै, नेपालका विमानस्थल संसारकै महंगो मध्यमा पर्ने र हवाई भाडा पनि सबैभन्दा महंगो भएकाले पनि हवाई यात्रा गर्ने विदेशीहरु निकै कम हुँदै गएको गुनासो गरे ।

कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले अब मुलुकमा आर्थिक उन्नतीको जरुरी भएको बताउँदै त्यसको आधार भनेकै पर्यटन क्षेत्र नै भएको जनाए । ‘नेपाल प्रकृतिको अनुपम उपहार र कलासंस्कृतिले धनी भएको देश हो,’, उनले भने, ‘त्यसैले अधिक भन्दा अधिक पर्यटक भित्र्याउने गतिविधि गर्न जरुरी छ । यसका लागि सरकार र नीजि क्षेत्रले हातेमालो गरेर अघि बढौं ।’

उनले सरकारले सधै व्यवसायीहरुलाई सहयोग गर्न चाहाने बताउँदै केही कमीकमजोरी भए सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाए । मन्त्री चौधरीले प्रदेशका नाकाहरुमा सूचना केन्द्र राख्ने, केबल कार संचालनका लागि अनुमती दिने लगायतका तयारी प्रदेश सरकारले गरिरहेको बताए ।