December 12, 2024, Thursday
२०८१ मंसिर २७

गौतमबुद्ध विमानस्थलमा छुट सुविधा थपिएको थपियै

भैरहवा– नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई अघि (बिहीबार) गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । ‘नयाँ विमानस्थल भएकाले गौतमबुद्धमा विदेशी बायुसेवालाई आकर्षित गर्न प्राधिकरणले यस्तो निर्णय गरेको हो’, प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

प्राधिकरणको निर्णयसँगै भैहरवामा विदेशी वायुसेवाको भूमीस्थ व्यवस्थापन (ग्राउन्ड ह्ह्यान्डलिङ) गर्दै आएको नेपाल वायुसेवा निगमले बिहीबारदेखि नै विदेशी वायुसेवालाई ५० प्रतिशत छुट दिन थालेको जनाएको छ । यसले विदेशी वायुसेवालाई थप आकर्षित गर्ने विश्वास सरकारी पक्षको छ ।

Advertisement

यतिमात्रै होइन्, गौतमबुद्धमा धेरैभन्दा धेरै वायुसेवालाई आकर्षित गर्न प्राधिकरणले थुप्रै छुट दिएको छ । यो छुटको अहिलेसम्म कुवेतको जजिरा एयरवेजले मात्रै फाइदा उठाउँदै आएको छ । यहाँबाट अन्य विदेशी वायुसेवाले सेवा सुरु नगरेकाले जजिराले मात्रै गौतमबुद्धबाट सुविधा उपभोग गरिरहेको हो ।

गत जेठ दुई गतेबाट गौतमबुद्धमा व्यवसायिक उडान सुरु भएको हो हो । त्यसयता जजिराले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको छ । वायुसेवा कम्पनीहरुलाई आकर्षित गर्न सरकारले यसअघि नै गौतमबुद्ध विमानस्थलमा एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षालगायतमा शुल्कमा विमान कम्पनीलाई पूर्ण छुट दिएको छ । यो सुविधा उपभोग गर्दै जजिराले अहिले प्रत्येक उडानमा करिब एक लाख रुपैयाँ छुट पाइरहेको छ ।

‘छुट सुविधा र यात्रु पर्याप्त पाएपछि जजिरा उत्साहित छ’, गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले भने । जजिराले विमानस्थलबाट छुट पाएपछि कुवेत उडान–अवतरणमा यात्रुलाई पनि काठमाडौं भन्दा भैरहवाबाट आठ हजार रुपैयाँ सस्तो भाडादर लिने गरेको छ ।

छुट सुविधा र पर्याप्त हवाई यात्रु पाउने भएपछि विज एयरले पनि उडान भर्ने तयारी गरिरहेको छ । उक्त एयरले आउँदो सेप्टेम्बर अन्तिमबाट उडान भर्ने तयारी गरेको हो । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको ‘अल्ट्रा लो कस्ट एस वायुसेवा’को विज एयरले भैरहवाबाट यूएईको अबुधाबी उडान भर्ने तयारी गरिरहेको दाहालले जनाए । प्राधिकरणका अनुसार अबुधाबीबाट सातामा तीन उडान गर्न वीज एयरलाई प्रारम्भिक अनुमति दिइसकेको छ । भैरहवाबाट विज एयरले एयरबस ३२१ निओ सिरीजको जहाजमाफर्त् उडान सञ्चालन गर्ने प्रस्ताव गरेको थियो । विजले १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो । विजले खासगरी पर्यटन क्षेत्र र वैदेशिक रोजगारीमा जाने यात्रुलाई लक्षित गरेको छ ।

सन् १९५८ जुलाई ८ बाट आन्तरिक विमास्थलका रुपमा सेवा दिँदै आएको गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रियस्तर बनाइएको हो । अन्तर्राष्ट्रि विमानस्थ लबनेपछि यसलाई पूर्ण क्षमतामा चलाउन सरकारले विभिन्न उपाय अपनाइरहेको छ । यसैको शिलशिलामा यहाँ धेरै छुट सुविधा दिइएको हो । ‘सरकारले केही वर्ष घाटामै गए पनि विदेशी विमान कम्पनीलाई आकर्षित गरेर विमानस्थल पूर्ण क्षमतामा संचालन गर्नुपर्छ’, पर्यटन व्यवसायी किशोर जोशीले भने । उनले तत्काल भन्दा दीर्घकालीन फाइदा हेर्नुपर्ने बताए । जोशीले नेपाल एयरलाइन्समार्फत् तत्काल भैरहवाबाट दिल्ली उडान गर्न पनि माग गरे ।

यो विमानस्थल संचालन आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बनेको पनि छ । कुनै कारण भित्रुवन विमानस्थलमा विमान उडान–अवतरण हुन नसक्ने अवस्था आएमा छिमेकी मुलुकमा पुर्याएर अवतरण गराउनु पर्ने बाध्यता अन्त्य पनि भएको छ । गौतमबुद्धमा वायुयानको उडान सुरक्षाका लागि आवश्यक पर्ने आधुनिक उड्डयन सहाय उपकरण आइएलएस समेत जडान गरिएको दाहालले जानकारी दिए ।

जानाकारहरुले हरेक हिसावले गौतमबुद्ध काठमाडौंभन्दा सुरक्षित भएको बताउँदै आएका छन् । ३ हजार मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा बोइङ ७७७ एयर बस ३३० र सोही क्षमताका वाइडबडी विमानहरु उडान अवतरण सहजै सकिने बताइएको छ । यो विमानस्थल लुम्बिनीको प्रवेशद्वारमा भएकाले विश्वलाई यस क्षेत्रसँग जोड्ने सम्पर्क माध्यम समेत बन्न पुगेको छ । ‘अब लुम्बिनीलाई केन्द्रमा राखेर बौद्धिष्ट मुलुकबाट उडान गर्ने वातावरण सिर्जना गर्नुपर्छ’, सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ भन्छन्, ‘यसले कोरोना थलिएको पर्यटन बजार उकास्न र विदेशी मुद्रा आर्जन गर्न सहयोग पुग्ने छ ।’