March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

‘रात्रिकालीन पर्यटन बजार’ संचालन गर्न माग

भैरहवा– कोभिडका कारण लामो समयसम्म थलिएको पर्यटन क्षेत्रको विकासका लागि भैरहवा क्षेत्रमा ‘रात्रिकालीन पर्यटन बजार’ संचालन गर्नुपर्ने माग उठ्न थालेको छ । रात्रिकालीन पर्यटन बजार संचालनका लागि भैरहवा क्षेत्र पर्यटकीय पूर्वाधारका कारणले पनि उपयुक्त रहेको पर्यटन व्यवसायीले बताएका छन् ।

Advertisement

होटेल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीले यहाँ आयोजना गरेको ‘पर्यटन प्रबद्र्धनमा रात्रिकालीन बजारको भूमिका’ अन्तरक्रिया कार्यक्रममा सहभागी पर्यटन व्यवसायी तथा सरोकारवाला सबै निकायले रात्रिकालीन पर्यटन बजार संचालनका लागि तत्कालै एउटा कार्यदल गठन गरि कार्यबिधि बनाउनमा जोड दिए ।

Advertisement

बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देही, कपिलबस्तु र नवलपरासीमा रहेका बुद्धसँग सम्बन्धित स्थलहरु, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, स्थलमार्ग हुँदै सर्वाधिक पर्यटक नेपाल भित्रिने सिमानाका, फराकिला सडक संजाल, होटेल रेष्टुरेन्ट लगायतका पूर्वाधार यस क्षेत्रमा तयार भैसकेकाले रात्रिकालीन पर्यटन बजारको आवश्यकता औल्याइएको हो ।

‘भैरहवा क्षेत्रमा रात्रिकालीन पर्यटन बजार संचालन गर्नु अवसरमात्र नभएर आवश्यकता नै भैसकेको छ’, नेपाल टुर एण्ड ट्राभल्स एशोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष तथा पर्यटन व्यवसायी सागर अधिकारीले भने, ‘बरु तत्कालै हप्ताको एक दिनबाट सुरु गरौं र यसका लागि सामान्य संरचना तयार पार्नेतर्फ लागौं ।’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट रातमा भैरहअवा ओर्लिने र रातमा उडान गर्ने हवाइ यात्रुलाई घुम्न र अल्मलिनका लागि पनि रात्रिकालीन पर्यटन बजारको आवश्यकता भएको भनाइ उनको थियो ।

अर्का पर्यटन व्यवसायी संजय बजिमयले रात्रिकालीन पर्यटन बजार संचालन गर्दा भावानात्मक एकताको आवश्यकता रहेको बताउँदै यसका लागि रातमा १२ बजेसम्म सिमाना खुल्ला हुनु पर्ने र नेपालमा २ हजार भारुको नोट चलनचल्तीमा ल्याउन सम्बन्धित निकायले पहल गर्नुपर्ने बताए । नेपालमा पर्यटन क्षेत्रको विकासका लागि गल्फ मुलुकलाई गन्तब्य बनाउनु पर्नेमा उनले जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका पर्यटन बिषयका सोधकर्ता तथा लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले रात्रिकालीन पर्यटन बजार संचालनका लागि सडक खाना, सांगितिक महोल, नाइट वाकिङ, डिस्को, क्यासिनो, लाइभ कन्सल्ट, लाइट एण्ड साउण्ड कार्यक्रम, विभिन्न जातीय तथा सामुदायिक सांस्कृतिक कार्यक्रम प्रदर्शन, विभिन्न खेल, सामान किनमेलको सुविधा लगायतका कार्यक्रम समावेश गर्नु पर्ने बताए ।

रात्रिकालिन पर्यटन बजार संचालनका लागि पर्यटकको सुरक्षालाई बिशेष ध्यान दिनु पर्ने र मूल्यहरु तार्किकपूर्ण ढंगले कायम गरिनु पर्ने उनले बताए । उच्च, मध्यम र निम्न बर्गको बाहुय तथा आन्तरिक पर्यटकलाई लक्षित गरि मूल्य र खानाको परिकार उपलब्ध गराउनु पर्ने उनले बताए ।

पर्यटन बिकास परिषद् लुम्बिनीका अध्यक्ष रामु जोशीले भैरहवा–लुम्बिनी क्षेत्रमा धेरै गर्र्मी हुने कारणले पनि परिवारको साथमा आन्तरिक तथा बाह्य पर्यटकलाई साँझ तथा रातको समयमा घुम्न र आरामदायी हुने हुँदा भैरहवामा रात्रिकालीन पर्यटन बजारको आवश्यकता रहेको बताए । रातमा भैरहवा क्षेत्रमा आएका कैयन् बिदेशी पर्यटकले बस्ने होटलको सुविधा नपाएको गुनासो समेत आउने गरेको उनले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले संघले तीन बर्ष अघि नै भैरहवामा रात्रिकालीन पर्यटन बजार संचालन गर्ने निर्णय गरिसकेको भए पनि कोरानाका कारण स्थगित भएको र यसका लागि होटेल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीसँग सहकार्य गरि संचालन गर्न तयार रहेको बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बेलहिया नाकाबाट नेपाल भित्रिने बिदेशी पर्यटक सिधै काठमाडौं, पोखरा चितवन लगायतका गन्तब्यमा जाने गरेकाले उनीहरुलाई केही वेर अड्याई र बसाइँ अवधि लम्ब्याउन पनि रात्रिकालीन पर्यटन बजार संचालन गरिनु पर्ने बताए ।

साहित्यकार तथा प्राज्ञ कपिलदेव लामिछानेले रात्रिकालीन पर्यटन बजारमा किनमेल गरिने तथा खानाका परिकारदेखि सम्पूर्ण सामान दिवा समयको भन्दा सस्तो हुनु पर्ने र पर्यटकलाई विभिन्न प्याकेजका सुविधा उपलब्ध हुनुपर्ने बताए । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले रात्रिकालीन पर्यटन बजार संचालनमा सुरक्षाको व्यवस्था प्रभावकारी बनाउनु पर्ने र स्थानीयको आवास क्षेत्र नजिक संचालन गर्न नहुने बताइन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रात्रिकालीन पर्यटन बजार संचालनका लागि सहजिकरणको भूमिका स्थानीय प्रशासनले खेले पनि व्यवसाय संचालन गर्ने नीजि क्षेत्र नै भएको बताए । सिद्धार्थनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले सिद्धार्थनगरमा पर्यटन क्षेत्रको विकासका लागि धेरै योजना संचालन गर्ने तयारी नगरपालिकाले गरेको जनाए ।