September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

यात्रुको रोजाईमा गौतमबुद्ध विमानस्थल

भैरहवा– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छोटो समयमै यात्रुको रोजाइमा परेको छ । घर पायक पर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा उडान शुल्क सस्तो परेपछि गौतमबुद्ध विमानस्थल यात्रुको रोजाईमा परेको हो । अहिले नेपालीले मात्रै होइन्, भैरहवाबाट नजिक पर्ने भएपछि भारतीय नागरिकले पनि यो विमानस्थल प्रयोग गरिरहेका छन् ।

Advertisement

विमानस्थलबाट गत जेठ २ गतेदेखि व्यवसायिक उडान सुरु भएको थियो । व्यवसायिक उडान सुरु पछि बैदेशिक रोजगारीमा जाने र फर्किने यात्रुको रोजाईमा विमानस्थल परेको छ । ‘हवाईभाडा सस्तो, घरपायक र विमानस्थल आउजाउका लागि सहज मार्ग हुँदा पनि बैदेशिक रोजगारीमा आउजाउ गर्नेले काठमाडौंभन्दा भैरहवालाई रोजेका हुन्’, विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले भने ।

गौतमबुद्ध विमानस्थलमा अहिले कुवेतबाट जजिरा एयरले साताको सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान भर्दै आएको छ । उसले अहिलेसम्म ३९ वटा उडान गरिसकेको छ । विमानस्थलमा हालसम्म ४ हजार ३ सय १६ जना ओर्लिएका छन् भने ५ हजार ९७ जना यात्रु यहाँबाट बाहिरिएका छन् । हालसम्म आउने/जाने गरी ९ हजार ४ सय १३ यात्रुले यो विमानस्थल प्रयोग गरेका छन् । ‘खाडी मुलुकमा आउनेजाने अधिकांश यात्रुले सहज हुने भएपछि अहिले कुवेत ट्रान्जिट गरेर गौतमबुद्ध विमानस्थल प्रयोग गर्न थालेका छन्’, दाहालले भने ।

वायुसेवा कम्पनीहरुलाई आकर्षित गर्न सरकारले गौतमबुद्ध विमानस्थलमा एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षालगायतमा शुल्कमा विमान कम्पनीलाई पूर्ण छुट दिएको छ । जसले गर्दा काठमाडौं भन्दा भैरहवाबाट भाडादर सस्तो छ । ‘यस्ता सुविधाका कारण पनि धेरै यात्रुको रोजाई विमानस्थल परेको हो’, दाहालले भने ।

छुट सुविधा र हवाई यात्रु निरन्तर पाएपछि उत्साहित जजिरा एयरले भैरहवाबाट हप्तामा सातै दिन उडानको तयारी गरिरहेको छ । यस्तै, हंगेरीको विज एयरले पनि आउँदो ३० अक्टोबरदेखि युएईको राजधानी अबुधाबीदेखि भैरहवा उडान गर्ने तयारी गरेको छ ।

‘सबै किसिमको सहजताका कारण पूर्वपश्चिम चारैतिरका यात्रुले मात्रै होइन् भैरहवाबाट नजिकका भारतीय यात्रुले पनि यो विमानस्थल प्रयोग गरिरहेका छन्’, दाहालले भने, ‘यसले एयरलाइन्सहरुलाई आकर्षित गरेको छ भने भैरहवा र आसपासको क्षेत्रमा पर्यटन प्रबद्र्धन गरी आर्थिक चलायमान बनाएको छ ।’

नजिकैको विमानस्थलबाट आफन्तको स्वागत र विदाई पाउँदा यात्रु मात्रै होइन् परिवारका सदस्य पनि निकै खुसी छन् । यसले बैदेशिक रोजगारीमा आउजाउ गर्ने यात्रुको मुहारमा छुट्टै उत्साह थपेको छ । कुवेतमा रोजगारी गरेर घर फर्किएका बुटवल सुशील बगालेले भने विगतमा काठमाडौं आर्लिएर घर आउँदा निकै सास्ती खेप्न परेको बताए । ‘मलाई लिन आमा, बुवा र श्रीमती आउनुभएको छ, घर छेवकै विमानस्थलमा आर्लिए, सुविधा पनि भयो र सास्ती हट्यो’, उनले भने, ‘यसले म निकै हर्षित छु ।’ उनले घरदेखि आधा घण्टाकै दुरीमा विमानस्थल भए पछि आफूजस्ता धेरै बैदेशिक रोजगारीमा जाने युवाहरुलाई सहज भएको बताए ।

रोजगारीका लागि कुवेद जान लागेका दाङका शिवप्रसाद डाँगीले काठमाडौं जानुपर्ने बाध्यता हट्दा खुशी लागेको बताए । ‘पहिला रातभरी यात्रा गरेर काठमाडौं पुगेर बल्ल विदेश गएको थिएँ, यसपटल चारघण्टामै भैरहवा आएँ र कुवेत जान लागेको छु’, उनले भने, ‘गौतमबुद्ध विमानस्थल हाम्रो यात्रालाई निकै सहज बनाएको छ ।’ उनले विमानस्थलमा केही कुराहरु सुधार गर्नुपर्ने जनाए । ‘बजारसम्म सहजै आउजाउका लागि यातायातको राम्रो प्रबन्ध हुन जरुरी छ’, उनले भने, ‘ट्याक्सी र अटोरिक्साले चर्को भाडा लिँदा रहेछन्, विमानस्थल भित्र केही खाउँ भन्यो की पाइँदैन । यसतर्फ सरोकारवालाको ध्यान जानुपर्छ ।’