बुटवलमा जग्गा नापजाँच सुरु


बुटवल– बुटवलमा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ बाट नापजाँचको सु्रवात् गरेका छन् ।
नापजाँच शुभारम्भ गर्दै नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने जनाए । जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न उनले आग्रह गरे ।
बुटवल क्षेत्रमा लामो समयदेखिको भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम शुरु भएको उनले बताए । राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गरे ।
उनले उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम शुरु गर्न सम्भव भएको बताए । कार्यक्रममा बोल्दै वडा नं. १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मीले नापजाँचमा वडाकातर्फबाट समन्वय र सहकार्य हुने जनाए ।
आयोग रुपन्देहीका सदस्य यमलाल तिवारीले नापजाँचको काममा साथ दिन स्थानीयसँग आग्रह गरे । नापी अधिकृत कपिल ज्ञवालीले स्थानीयले सहयोग गरेमा नापीको काम तीब्र गतिमा अघि बढ्ने बताए ।








प्रतिकृया दिनुहोस्