September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

पैंचोलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिन्ह

गुल्मी– लामो समयदेखि ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषि उपजको प्रशोधन तथा बजारीकरण गर्दै आएको पैंचो पसल प्रालिले एकैपटक चारवटा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको छ । यसले पहाडी क्षेत्रमा कृषि क्रान्ति ल्याएको भन्दै पैंचो पसल प्रालि हौंसिएको छ ।

Advertisement

लामो समयको मिहेनत र लगनले आफ्ना उत्पादनले गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको प्रालिले जनाएको छ । आगामी दिनमा गुणस्तर कायम राखेर उपभोक्ताको विश्वास जित्न प्रयास गरिरहने जनाएको छ ।

पैंचोले गुणस्तर व्यवस्थापन प्रणाली अनुसार व्यवसाय गरेवापत आइएसओ ९००१ः२०१५, खाद्य सुरक्षा व्यवस्थापन गरेबापत आइएसओ २२०००ः२०१८ प्राप्त गरेको कम्पनीका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले बताए ।

कृषि उपजको प्रशोधन गर्ने पैंचो प्रशोधन केन्द्रका उत्पादनहरु विश्व स्वास्थ्य संगठनको खाद्य मापदण्डअनुसार उत्पादन भएबापत गुड मेनुफेक्चरिङ्ग प्राक्टिस (डब्लूएचओ–जीएमपी) र हाजार्ड एनलाइसिस एण्ड क्रिटिकल कन्ट्रोल प्वाइण्ट (एएसीसीपी) को मान्यता प्राप्त गरेको न्यौपानले जानकारी दिए ।

कम्पनीले प्राप्त गरेका प्रमाण चिन्हहरु रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कम्पनीका प्रबन्ध निर्देशक न्यौपानेलाई हस्तान्तरण गरे । किसानले उत्पादन गरेको कृषि उपजसँग किसानलाई आवस्यक पर्ने अन्य सामान बिनिमय गर्ने उद्देश्यले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सारमा स्थापना भएको पैंचो पसलले अहिले किसानबाट लिएका कृषि उपजको प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।

अहिले पैंचोले २७ प्रकारका वस्तु प्रशोधन गरी आफ्नै ब्राण्डमा बजारीकरण गर्दै आएको छ । प्रमाण चिन्ह हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष ज्ञवालीले पहाडी डाँडाकाडालाई उत्पादनमा जोडेर जनताको जीवनस्तर उठाउनका लागि पैंचोले राम्रो काम गरेको भन्दै भावि दिनमा आवश्यक सहयोग गर्ने बताए ।

‘हाम्रोमा धेरै कृषि उपज उत्पादन भएपनि बेच्नु हुँदैन भन्ने मानसिकता पैंचोले परिवर्तन गरिदिएको छ’, उनले भने, ‘तर नेपालमा एकपटक राम्रो देखाउने र पछि बेवास्ता गर्ने प्रवृत्ति छ, त्यसलाई चिरेर काम गर्नुपर्छ, हामी सहयोग गर्न तयार छौं ।’ कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पहिला निर्वाहमुखी कृषिबाट व्यवसायिक हुँदै अहिले समृद्ध कृषितर्फ रहेकोले त्यसका लागि पैंचोको अवधारणा निकै महत्वपूर्ण रहेको बताए ।

उनले अब समृद्ध कृषिका लागि आफूहरुले बृहत् उत्पादनतर्फ जोड दिने र बजारीकरणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताए । पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक न्यौपानेले कम्पनीले गुणस्तरीयतालाई सधै कायम राख्ने प्रतिवद्धता जनाए ।