April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

ताल र झरनामा पर्यटकको घुइँचो

भैरहवा– पाल्पाको तिनाउ गाउँपालिका पर्यटकीय गन्तव्य बनेको छ । त्यहाँका रानी झरना, सिद्ध सरोवर (भूतखोला), सुकेताल, सत्यवती ताल, रामपुरको तालपोखरा, चिन्ते झरनामा घुमफिर गर्नेको भीड लाग्न थालेको छ । उक्त पालिकामा रहेका तालतलैया, झरनालाई व्यवस्थित गरिएपछि आन्तरिक पर्यटक बढेका हुन् ।

Advertisement

संघीय, प्रदेश र स्थानीय सरकारले पर्यटकीय गन्तव्य व्यवस्थित गरेका हुन् । प्रदेश सरकारले प्रत्येक वर्ष ५ देखि २० लाखसम्म झरना, ताल व्यवस्थित गर्न बजेट निकासा गर्दै आएको छ । गत आर्थिक वर्ष संघीय सरकारले ५० लाख रुपैयाँ बजेट पठाएको थियो ।

Advertisement

‘संघीय र प्रदेश सरकारको सहयोगमा केही व्यवस्थित गर्ने प्रयास गरेका छौं,’ डिभिजन वन कार्यालय प्रमुख दीपक ज्ञवालीले भने, ‘अहिले सामुदायिक वन समूहका सदस्यले चासो दिएकाले पनि सहज भएको छ ।’ उनका अनुसार यसअघि सामुदायिक वन उपभोक्ता समूहले चासो नदिएकाले पनि व्यवस्थित हुन सकेको थिएन ।

भूतखोला झरना तथा सिद्ध सरोवरको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अवलोकन गर्दै आन्तरिक तथा भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने बताए । यो झरना सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान नजिक छ । दैनिक दुई सय बढी आन्तरिक तथा भारतीय पर्यटकको भीड लाग्ने गर्छ ।

‘विगतमा झरनाको पानी झर्ने क्षेत्र गहिरो भएर मानवीय क्षति हुने गरेको थियो,’ भूतखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिलकुमारी रोकामगरले भनिन्, ‘अहिले त्यस क्षेत्रको जोखिम हटाएर दैनिक रूपमा कर्मचारीहरू खटाउँदै झरना सञ्चालनमा ल्याइएको छ ।’ भूतखोला झरना अवलोकनको २० रुपैयाँ टिकट मूल्य राखिएको छ ।

भूतखोलाको जल साउन महिनाको सोमबारको दिनमा सिद्धबाबा मन्दिरमा अर्पण गर्ने परम्परा रहेको छ । झरना व्यवस्थित गर्न प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालयमार्फत २० लाख, गाउँपालिकाको ४ लाख र स्थानीय श्रमदानसमेत रहेको छ । झरना क्षेत्रको सौन्दर्यकरण, पर्यटकहरूले हेर्ने, रमाउने तथा पौडी खेल्ने गरी व्यवस्थापन गरिएको छ ।