March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

लुम्बिनीमा संसारा वेलनेसलाई रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज

भैरहवा– लुम्बिनी विकास कोष परिषद बैठकले ‘क्याम्पेन ग्राउन्ड’ मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई रिसोर्ट सञ्चालन गर्न दिएको अनुमती खारेज गरेको छ । लुम्बिनी विकास कोषभित्र उक्त रिसोर्ट संचालन गर्न दिने यसअघि निर्णय भएको थियो ।

Advertisement

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषदका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको परिषद बैठकले लुम्बिनी विकास गुरुयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय गरिएको भन्दै खारेज गरेको हो ।

Advertisement

गत १९ वैशाखमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले क्याम्पेन ग्राउन्डको उक्त जग्गा निजी कम्पनीको संसारा वेलनेसलाई दिने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचना भएको थियो ।

चर्को आलोचना हुँदा समेत तत्कालीन मन्त्री आलेले आफ्नो निर्णय फिर्ता लिएका थिएनन् । मन्त्री फेरिएपछि परिषद बैठकले निर्णय खारेज गरेको हो ।

एक महिनाभित्र बस संचालन गरिने
विकास कोष परिषद अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले लुम्बिनीमा ल्याइएका विद्युतीय बस एक महिनाभित्र संचालन गर्ने निर्णय गरेको हो ।

कोषका सदस्य सचिव सानुराजा शाक्यकाअनुसार बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । शाक्यले लुम्बिनी जानेआउने पर्यटकलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको जनाए । विद्युतीय बस सञ्चालनले लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनमा जाने पर्यटकलाई सहज विशवास गरिएको छ ।

कोषको परिषद बैठकले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ । साथै विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गर्ने निर्णय भएको सदस्य सचिव शाक्यले बताए ।