March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

विजले अक्टोबरबाट उडान गर्ने, प्राथमिकतामा पर्यटक र श्रमिक

भैरहवा– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलबाट थप अर्को एयरलाइन्सले उडान भर्ने तयारी गरेको छ । हंगेरीको वायुसेवा कम्पनी विज एयरले गौतमबुद्धबाट उडान गर्ने तयारी गरेको हो । यसका लागि विजले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।

Advertisement

विजलाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । युरोपेली देश हंगेरीको अल्ट्रा लो कस्ट एयरलाइन्स विज एयरले मध्यपूर्व एसियाको दुबईलाई आधार बनाएर उडान गर्दै आएको छ । यही एयरलाइन्सले मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमास्थल गौतमबुद्धबाट पनि उडान भर्ने दाहालले बताए ।

Advertisement

‘विजले आउँदो ३० अक्टोबरदेखि युएईको राजधानी अबुधाबीदेखि भैरहवा उडान गर्ने गरी मन्त्रालय र प्राधिकरणसँग अनुमति मागेको हो’, दाहालले भने, ‘हामीलाई जानकारी आएअनुसार तोकिएकै मितिबाट विजले उडान भर्ने छ ।’

यसअघि कुवेतको जजिरा एयरलाइन्सले कुवेत–भैरहवा–कुवेत उडान गर्दै आएको छ । अनुमती पाए लगत्तै विजले उडान भर्ने विमानस्थलले जनाएको छ । विज एयरले दुई सय ३९ सिट क्षमताको एयरबस–३२१ नियो जहाजबाट अबुधाबी–भैरहवा उडान गर्ने प्रस्ताव गरेको हो । उसले मंगलबार, बिहीबार र शनिबार गरी सातामा तीन दिन उडान गर्ने कार्यतालिका पेस गरेको छ ।

मन्त्रालयले भैरहवाका लागि अपरेटिङ अथराइजेसन दिएपछि विजले नियामक निकाय नागरिक उड्डयन प्राधिकरणसँग स्लटको अनुमति लिनुपर्छ । ‘प्राधिकरणले स्लट दिएपछि बल्ल अबुधाबी–भैरहवा–अबुधाबी हवाई टिकट बुकिङ सुरु गर्नेछ’, विमानस्थलका प्रवक्ता श्यमकिशोर साहले भने । विमानस्थलका अनुसार विजले वैदेशिक रोजगारीमा जानेआउनेसँगै पर्यटकलाई लक्षित गरेर उडान सुरु गर्न लागेको हो ।

‘विजले बढीमात्रामा यहाँ पर्यटक ल्याउन लुम्बिनीको प्रचारप्रसार पनि सुरु गरिसकेको छ’, साहले भने, ‘यसले हामीले सहजै बुझ्न सक्छौं, विजको पहिलो रोजाई नै पर्यटन क्षेत्र हो । साथमा रोजगारीमा जानेआउने श्रमिक त छँदैछ ।’ विजले मन्त्रालय र प्राधिकरणसँग अनुमति माग्नुअघि भैरहवामा हवाई सुरक्षा र उडान सुरक्षासम्बन्धी प्राविधिक पठाएर यसबारे बुझेर गएको थियो ।

‘यहाँबाट बुझेर गएपछि यी दुबै सुरक्षामा विज सकारात्मक देखिएको छ’, प्रवक्ता साहले भने । गौतमबुद्ध विमास्थलको प्रबद्र्धनका लागि भन्दै नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सहरुलाई चार किसिमका छुट दिइएको छ । प्राधिकरणले एक वर्षसम्म गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई ल्यान्डिङ, पार्किङ, न्याभिगेसन र सेक्युरिटी शुल्कमा शतप्रतिशत छुट दिएको छ ।

जजिराले अहिले प्रति उडान करिब एक लाख रुपैयाँ छुट पाउँदै आएको छ । विजले पनि उक्त बराबरको छुट पाउने छ । विजले उडान सुरु गरेपछि गौतमबुद्धबाट दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्नेछन् । यसले रुपन्देहीसँगै लुम्बिनी प्रदेशलाई चलायमान बनाउने बनाउने अपेक्षा गरिएको छ । ‘यो हाम्रा लागि खुशीको कुरा हो, जतिसक्दो धेरै उडान हुन्छन्, यस क्षेत्र मात्रै होइन मुलुकलाई नै फाइदा पुग्छ’, पर्यटन व्यवसायी किशोर जोशीले भने ।